सुडानमा बिहीबारदेखि ७ दिनसम्म युद्धविराम 

बुधबार, वैशाख २०, २०८०

जुबा– सुडानमा युद्धरत पक्ष भोलिदेखि लागू हुने गरी सातदिने युद्धविरामा गर्न सहमत भएका छन् । दक्षिण सुडानका राष्ट्रपति साल्भा किर मेयारदिटसँगको फोनवार्तामा युद्धरत समूहका नेताले उक्त सहमति गरेका हुन् ।

दक्षिण सुडानको विदेशमन्त्रालका अनुसार सुडानी सेना (एसएएफ) प्रमुख अब्देल फताह अल बुरहान र अर्धसैनिक बल र्यापिड सपोर्टं फोर्सेस (एसएएफ) प्रमुखले बिहीबार बिहान वैशाख २१ देखि २८ गतेसम्म युद्धविराम गर्न सहमति जनाएका हुन् । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै पक्षले वार्ताका लागि आ–आफ्ना प्रतिनिधि खटाउन सहमति पनि जनाएका छन् । 

दक्षिण सुडानका राष्ट्रपतिले लामो समयसम्म युद्धविराम हुनुपर्नेमा जोड दिँदै त्यसनिम्ति वार्ता अपरिहार्य भएको बताए ।

उनले दुवै पक्षलाई वार्ताको मिति प्रस्ताव गर्न आग्रह गर्नाका साथै दुवै समूहलाई मान्य हुने वार्तास्थल निर्धारण गरिने जानकारी दिएका छन् । शीघ्र वार्ताका निम्ति प्रतिनिधिका नाम पठाउन पनि उनले आग्रह गरेकान छन् । 

व्यापार र विकासका लागि आठ अफ्रिकी देशको अन्तरसरकारी मञ्च (आइजिएडी)का प्रमुखसमेत रहेका दक्षिण सुडानका राष्ट्रपतिलाई युद्धरत पक्षलाई वार्ताको टेबलमा ल्याउन तथा युद्धविराम गराउन सम्बद्ध पक्षसँग वार्ता गर्न आइजिएडीले अधिकार प्रत्यायोजन गरेको थियो ।

भीषण युद्धका कारण राजधानी खार्तुमलगायत सुडानको अवस्था भयावह बनेपछि आइजिएडीले युद्धविरामको पहल गरेको हो ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्