हराएका किशोरीहरूको खोजी गर्दा ७ शव भेटिए
हेत्रिएटा– अमेरिकाको ओक्लाहोमामा हराएका किशोरीहरूको खोजीका क्रममा सात जनाका शव भेटिएका छन् । ओक्लाहोमा सहरबाट एक सय ४५ किलोमिटर पूर्वमा अवस्थित हेत्रिएटा सहरमा गरिएको खोजतलासका क्रममा सात जनाको शव भेटिएको अनुसन्धान अधिकारीहरूले बताएका छन् ।
ओक्लाहोमा राज्यको अनुसन्धान कार्यालयका प्रवक्ता जेराल्ड डेभिडसनले चिकित्सा परीक्षणबाट मृतको परिचय खुल्ने बताउँदै हराएका किशोरी पनि ती मृतकको समूहमा भए–नभएको जानकारी परीक्षणपछि मात्र ज्ञात हुने जनाएका छन् । मृतकहरूको परिचय सार्वजनिक गरिएको छैन ।
१४ वर्षीया आइबी वेबस्टर र १६ वर्षकी ब्रिटनी ब्रुवर हराएकाले उनीहरूको खोजबिनका लागि सोमबार जारी गरिएको ‘खोजीको सूचना’ सोमबार अपराह्न ओक्लाहोमा राज्यमार्ग गस्तीले रद्द गरेको छ ।
बेवस्टर र ब्रुवरलाई यौन अपराधमा कारगारबाट छुटेका जेसी म्याकफडेनसँग यात्रामा रहेको देखिएको थियो । बलात्कारमा दोषी उनी सन् २०२० को अक्टोबरमा रिहा भएका थिए ।