पाकिस्तानको बलुचिस्तान भिडन्त : ६ जना प्रहरी मारिए

बिहीबार, वैशाख १४, २०८०

इस्लामावाद– पाकिस्तानको दक्षिण–पश्चिम बलुचिस्तान प्रान्तमा बुधबार अपराह्न भएको भिडन्तमा छ जना प्रहरी मारिएका छन् भने अन्य दुईजना घाइते भएका छन् । 

प्रान्तीय गृहमन्त्री जियाउल्ला लाङ्गोवेका अनुसार जाफरावाद जिल्लामा आपराधिक समूहसँग भएको झडपमा ती सुरक्षाकर्मीले ज्यान गुमाएका हुन् । लुटपाट र अन्य जघन्य अपराधमा संलग्न समूहको खोजीमा रहेको प्रहरी टोलीमाथि आक्रमण भएको थियो । 

प्रहरीले घटनास्थल र वरपरको क्षेत्रमा घेरा हालेर उक्त समूहको खोजी अभियान जारी राखेको छ । आक्रमणमा घाइते भएका प्रहरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

केही आक्रमणकारी भागेका र उनीहरूको पनि खोजतालस भइरहेको गृहमन्त्री लाङ्गोवेले बताएका छन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्