धितोपत्र बजार

स्टक एक्सचेन्ज र कमोडिटी मार्केटको लाइसेन्सका लागि ४ कम्पनीको आवेदन

आइतबार, वैशाख १०, २०८०

काठमाडौँ– धितोपत्र बजारमा नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि इजाजत लिन समान दुई/दुईवटा कम्पनीको आवेदन परेको छ । 

नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटको इजाजत पत्र लिनका लागि आवदेन दिने आज अन्तिम दिन रहेकोमा चारवटा कम्पनीको आवेदन दर्ता भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

‘कमोडिटी मार्केटका लागि मेक्स नेपाल र मल्टिडेरिभेटिभ एक्सचेन्जको आवेदन परेको छ भने नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्ज अफ नेपालको आवेदन परेको छ’,बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले भने ।

सर्वोच्च अदालतको गत चैत २६ गतेको फैसलाले नयाँ स्टक कम्पनी, कमोडिटी मार्केट र धितोपत्र कारोबारका लागि नयाँ दलाल व्यवसायी (ब्रोकर) लाइसेन्स जारी गर्न बोर्डलाई बाटो खुलेको थियो ।

धितोपत्र बोर्डले गत असोज २ गते नयाँ स्टक र धितोपत्र दलाल व्यापारीको अनुमतिपत्रका लागि निवदेन मागेको थियो । बोर्डको उक्त निर्णयविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसमेतलाई विपक्षी बनाई अधिवक्ता दीपक विक्रम मिश्रले गत असोज ३१ गते सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो । तर उक्त मुद्दा सर्वोच्चको चैत २६ गतेको फैसलाले खारेज गरेपछि धितोपत्र बोर्डले चैत ३० गते सूचना जारी गर्दै वैशाख १० गतेसम्म आवेदन दिइसक्न भनेको थियो ।

धितोपत्र बजारको विकास तथा विस्तारका लागि नयाँ स्टक एक्सचेन्ज तथा कमोडिटी मार्केट खोल्न र थप ब्रोकर लाइसेन्स खुलाउन आवश्यक रहेको बोर्डले बताउँदै आएको छ । धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्तामैत्री एवम् अन्तर्राष्ट्रियस्तरको प्रविधि सहितको बनाउन पनि बजारमा नयाँ स्टक चाहिने बोर्डको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्