वीर अस्पतालका सफाइकर्मीद्वारा आन्दोलनको घोषणा

बिहीबार, वैशाख ७, २०८०

काठमाडौं –समयमै पारिश्रमिक नपाएको भन्दै वीर अस्पतालका सफाइ कर्मचारीले आन्दोलनको घोषणा गरेका छन् । गरुड सपोर्ट सर्भिसेज प्रालिमार्फत वीर अस्पतालमा ज्यालादारीमा कार्यरत कर्मचारीले तीन महिनादेखि पारिश्रमिक नपाएको भन्दै आन्दोलनको घोषणा गरेका हुन् ।

पारिश्रमिकबारे प्रशासन र आपूर्तिकर्ता कम्पनीलाई पटक–पटक लिखित र मौखिक जानकारी गराउँदा पनि सुनुवाइ नभएको नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन र नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठनले जनाएका छन् ।

गरुड सर्भिसेज र वीर अस्पतालले समयमै पारिश्रमिक भुक्तानी गर्ने लिखित प्रतिबद्धता नजनाएसम्म आन्दोलन फिर्ता नलिने संगठनले जनाएको छ ।

आन्दोलनका कार्यक्रमअन्तर्गत वैशाख १० देखि १३ गतेसम्म दैनिक एक घण्टा कालो ब्यानर र प्लेकार्डसहित कोणसभा गर्ने र नियमित काममा फर्कने जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्