यू–२० विश्वकप अर्जेन्टिनामा हुने

मंगलबार, वैशाख ५, २०८०

काठमाडौं –फिफा यू–२० विश्वकप अर्जेन्टिनाले आयोजना गर्ने भएको छ ।

यू–२० विश्वकप यसअघि इन्डोनेसियामा आयोजना हुने तय थियो । इन्डोनेसियाले आयोजकबाट नाम फिर्ता लिएपछि फिफाले अर्जेन्टिनालाई यो अधिकार सुम्पिएको हो ।

इन्डोनेसियाले दुई हप्ताअघि आयोजकबाट नाम फिर्ता लिएको थियो । सोमबार फिफाले युवा विश्वकप अर्जेन्टिनाले आयोजना गर्ने पुष्टि गरेको हो ।

प्रतियोगितामा इजरायलले पनि सहभागिता जनाउने भएपछि इन्डोनेसियाले विरोध गरेको थियो । सोही कारण इन्डोनेसियाले विश्वकप आयोजना छोडेको हो ।

यू–२० विश्वकपको सर्वाधिक सफल टिम भए पनि अर्जेन्टिना यो संस्करणमा छनोट हुन असफल भएको थियो । तर, आयोजना अधिकार पाएसँगै अब अर्जेन्टिनाले आयोजकको हैसियतमा विश्वकप खेल्नेछ ।

अर्जेन्टिनाले अहिलेसम्म ६ पटक यू–२० विश्वकपको उपाधि जितेको छ । अर्जेन्टिनाले पछिल्लोपटक सन् २००१ मा युवा विश्वकपको आयोजना गरेको थियो । अर्जेन्टिनाले उक्त संस्करणको उपाधि समेत जितेको थियो ।अयू–२० विश्वकप आउँदो मेदेखि जुनसम्म आयोजना हुनेछ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्