नेभिगेशन
समाज विविध

पञ्चाङ्ग निर्णायक समितिले भन्यो– अहिले बृहस्पति अस्त छन्, धार्मिक कार्य नगर्नू

काठमाडौँ– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी वर्ष २०८० को वैशाख १८ सम्म कुनै पनि धार्मिक कार्य नगर्न अनुरोध गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै समितिले गत चैत १७ देखि बृहस्पति अस्त रहेकाले सो अवधिसम्म विवाह व्रतबन्धलगायत कुनै कार्य नगर्न अनुरोध गरेको हो ।

‘विसं २०७९ साल चैत्र १७ गते शुक्रबारबाट गुरू अस्त भइ आगामी २०८० साल बैशाख १५ गते शुक्रबार गुरूको उदय हुन्छ । उक्त दिनहरूमा गुरूको अस्त दोष र बैशाख १६ गतेदेखि बैशाख १८ गतेसम्म गुरूको बाल्य दोष रहन्छ,’ विज्ञीप्तमा भनिएको छ, ‘उक्त अवधिमा इनार, बगँैचा, तलाउ निर्माण, गृहारम्भ, गृहप्रवेश, मन्दिर निर्माण, देवताको प्राणप्रतिष्ठा, चान्द्रायण आदि व्रतको आरम्भ र उद्यापन, वधूप्रवेश, तुलादान आदि महादान, सोमयाग, अष्टका श्राद्ध, प्रथम उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, शिशुको अतिक्रान्त संस्कार, दीक्षाग्रहण, कर्णबेध,चूडाकर्म, व्रतबन्ध, विवाह, विशिष्ठ पूजा, पाठ यज्ञयागादि कहिल्यै नगरिएको देव दर्शन तथा तीर्थयात्रा, अग्निहोत्र, सन्यासग्रहण, चातुर्मास्य यज्ञ, राज्याभिषेक आदि अन्यगतिक काम्य कर्महरू उक्त अस्तकालमा गर्नुहुँदैन भन्ने कुरा श्रुति, स्मृति, पुराण, ज्योतिषशास्त्र, धर्मशास्त्र, आदि सबै शास्त्रले बताएका छन् ।’

अस्त समयमा गुरू शुक्र सूर्यको समीपमा रहने भएकाले यज्ञका फलदाता देवगुरूको र शुक्रको कुनै पनि सकारात्मक प्रभाव पर्दैन भन्ने नै शास्त्रको मनसाय रहेको बताइएको छ । । शास्त्रअनुसार फलको आशाले गरिने धार्मिक कृत्यहरू शास्त्रले निषेध गरेको समयमा गर्न मिल्दैन ।             

‘हाल देशमा यस्तो वर्जित समयमा सप्ताह, नवाह र ठूला ठूला यज्ञहरू भइरहेका छन् र हुन लागेका छन् भन्ने सुन्नमा आएका छन् । यस्ता क्रियाकलाप बन्द गरिनुपर्छ भनी देशमा चारैतिरबाट जन गुनासाहरूसमेत यस समितिमा आएकाले यसमा समितिको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सूक्ष्मरूपमा भए पनि आरम्भ पछि यसको दोष लाग्दैन पनि कोही कोही भन्दछन् तर सूक्ष्मआरम्भपछि गुरूशुक्रास्तमा फेरि वृद्धिक्रमले पाठ, जप होमादि गर्न हुन्न भन्ने विषय शास्त्रमा प्रष्टरूपमा लेखिएको छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध