यी-यी जलविद्युत् आयोजनाबाट असारभित्रै उत्पादन हुँदैछ बिजुली

बुधबार, चैत २९, २०७९

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०७९-०८० को असार मसान्तभित्र ८१० मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा थपिने बताएको छ । साना तथा ठूलो क्षमताका विभिन्न जलविद्युत् आयोजनाले आउँदो असारभित्र विद्युत् उत्पादन गर्ने कार्यतालिका विद्युत् प्राधिकरणमा बुझाएका छन् ।

प्राधिकरणका अनुसार फागुन मसान्तसम्म २ सय मेगावाटभन्दा बढी बिजुली राष्ट्रिय प्रणालीमा थपिइसकेको छ । यसअघि प्राधिकरणले चैतसम्म ५४३ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको थियो । तर, अधिकांश जलविद्युत आयोजना निर्माणमा भएको ढिलाइका कारण असारसम्म सम्पन्न हुने चरणमा छन् ।

आउँदो २०८० बैशाखदेखि असार मसान्तसम्म २६८ मेगावाटका आयोजना निर्माण सम्पन्न हुँदैछन् । त्यतिमात्र होइन, २०७९ माघ, फागुन र चैतमा निर्माण सम्पन्न गर्ने कार्यतालिकामा रहेका आयोजना पनि असारसम्म सम्पन्न हुने प्राधिकरणले जनाएको छ । 

त्यस्तै, ३५ मेगावाटका ३ वटा जलविद्युत् आयोजना विद्युत् उत्पादनको परीक्षण र ‘ट्रायल’ परीक्षणकै फेजमा रहेको प्राधिकरणले जनाएको छ । १८ मेगावाटको मध्यमोदी, १५.३३ मेगावाटको कलगांढ र २ मेगावाटको सोलार परियोजना विद्युत् परिक्षणकै चरणमा छन् ।

प्राधिकरणका अनुसार ५४ मेगावाटको सुपर दोर्दी खोला (ख), ४४ मेगावाटको सुपर मादी, १४.९ मेगावाटको माया खोला, १८ मेगावाटको मध्य मोदी, १५.३ मेगावाटको कलंगाढ, २८.१ मेगावाटको तल्लो लिखु, २७ मेगावाटको दोर्दी खोला, १२ मेगावाटको दोर्दी–१, ३६ मेगावाटको अपर बलेफी, २५ मेगावाटको अपर दोर्दी ‘ए’, १४.८ मेगावाटको अपर सान्जेन, ५१ मेगावाटको लिखु ‘ए’ जस्ता ठूला क्षमताका जलविद्युत् आयोजना यस वर्ष सम्पन्न हुने प्रक्षेपण छ ।

त्यस्तै, १० मेगावाटको माकरीगाड हाइड्रोपावर, ४.७ मेगावाटको अपर पिलुवाखोला जलविद्युत आयोजना, ४.५५ मेगावाटको अपर माछाखोला जलविद्युत, ५ मेगावाटको रुकुमगढ, ३८ मेगावाटको अपर कलगांढ, ३ मेगावाटको गेलुनखोला, ६.८ मेगावाटको सोलार परियोजना, ४.८ मेगावाटको खोरुङ्गखोला, १०.३ मेगावाटको तल्लो पिलुवाखोला, ३३.४ मेगावाटको लिखु–२, ०.९९० मेगावाटको सेलाङ्ग खोला, ५.८ मेगावाटको अपर फवाखोला, १८ मेगावाटको अपर सोलुखोला र ०.९७० मेगावाटको घट्टेखोला जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन हुने प्रक्षेपण गरिएको प्राधिकरणले जनाएको छ । 

प्रक्षेपण गरिएकामध्ये धेरै जसो जलविद्युत् आयोजना चालु आवमा सम्पन्न भइ विद्युत् उत्पादन हुने प्राधिकरणअन्तर्गतको विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीले बताए । कुल ८११ मेगावाट बिजुली उत्पादन थपिने प्रक्षेपण गरिएकोमा कम्तीमा ६०० मेगावाट थपिने सम्भावना रहेको उनी बताउँछन् ।

हाल विद्युत् प्राधिकरणको कुल जडित क्षमता २ हजार ४०० मेगावाट हाराहारी पुगेको छ । तर, विद्युत् उत्पादन ७३० मेगावाट हाराहारी भइरहेको छ । कारण, हिउँदको सिजन भएकाले नदीमा पानी सतह निकै घट्नु ।

पानीको बहाव घटेका कारण सञ्चालनमा आएका आयोजनाको क्षमताभन्दा धेरै कम अर्थात् क्षमताभन्दा एक तिहाइभन्दा कम मात्र विद्युत् उत्पादन भइरहेको छ । विद्युत् उत्पादन भइरहेका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिका हुँदा सधैँ हिउँदमा विद्युत् उत्पादन घट्ने गरेको छ । 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  ०९:०४
प्रतिक्रिया दिनुहोस्