कङ्गोमा अज्ञात समूहको आक्रमणबाट २० जना मारिए 

आइतबार, चैत २६, २०७९

गोमा– पूर्वी कङ्गोमा एक विद्रोही समूहले गरेको भनिएको आक्रमणमा परी आइतबार करिब २० जनाको मृत्यु भएको छ ।

एलाइड डेमोक्रेटिक फोर्सेस (एसडीएबफ)ले एनेबुला गाउँ नजिकै शुक्रबार अपराह्न ४ बजे किसानहरूमाथि आक्रमण गरेको स्थानीय नागरिक समाजका नेता प्याट्रिक मुकोहेले एएफपीलाई फोनबाट जानकारी गराए । 

मुकोहेले उत्तरी किवु प्रान्तको ओइचा शहरबाट करिब ३० किलोमिटर पश्चिममा रहेको उक्त हत्यास्थलमा २१ जना महिला र पुरुषको शव फेला परेको बताएका छन् । 

ओइचा अस्पतालको मुर्दाघरमा काम गर्ने जुल्स काम्बालेले १९ जनाको शव प्राप्त भएको बताए । क्षेत्रीय सैन्य प्रशासक चार्ल्स एहुता ओमेगाले आक्रमणको पुष्टि गर्दै उक्त आक्रमणमा ‘एडीएफ आतङ्ककारीहरू’ जिम्मेवार रहेको दावी गरे । 

सन् १९९० को दशकमा पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोमा आफ्नो पकड जमाएको एडीएफमाथि हजारौं सर्वसाधारणको हत्या गरेको आरोप लाग्दै आएको छ ।

सन् २०१९ यता पूर्वी डीआरसीमा एडीएफका केही आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ, जसले उक्त समूहलाई आफ्नो स्थानीय शाखा इस्लामिक स्टेट मध्य अफ्रिका एकाइको रूपमा वर्णन गरेको छ ।

सामाजिक सञ्जालमा शेयर गरिएको र मुकोहेले प्रमाणित गरेको भिडियोमा एउटा भीडले काठको फ्रेममा बाँधिएको, घाँटी रेटेको व्यक्तिको शवलाई घेरेर हेरिरहेको देखाइएको छ । 

मृतकको शव ओइचाको शवगृहमा आइपुग्दा केही युवाले विरोधमा नजिकैको राष्ट्रिय सडक अवरुद्ध गर्ने प्रयास गरेका थिए । 

बिहीबार कङ्गोस्थित संयुक्त राष्ट्रसङ्घीय मिसन मोनुस्कोले छिमेकी इटुरी प्रान्तमा एडीएफको आक्रमणमा परी ३० जनाभन्दा बढीको मृत्यु भएको जनाएको थियो ।

गत महिना अमेरिकाले एडीएफ नेता सेका मुसा बालुकुका बारेमा जानकारी दिनेलाई ५० लाख अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  २१:०६
प्रतिक्रिया दिनुहोस्