गृहमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

शनिबार, चैत २५, २०७९

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । 

शनिबार विमानस्थलको अनुगमनका क्रमा उनले सुधारका लागि १५ दिनभित्र पुनर्संरचना प्रस्ताव प्रस्तुत गर्न निर्देशन पनि दिएका छन् । 

उनले अन्तर्राष्ट्रिय विमानस्थलको महत्व, यस निकायले दिनुपर्ने सुरक्षा, सेवाबारे विमानस्थलको तत्काल र दीर्घकालीन पुनर्संरचना प्रस्ताव प्रस्तुत गर्न निर्देशन दिए ।

उपप्रधानमन्त्री श्रेष्ठले विमानस्थलको हेल्प डेस्कलाई प्रभावकारी बनाउन र गतिविधिहरूलाई डिजिटलाइज गर्न जरुरी रहेको बताए । 

श्रेष्ठले राष्ट्रिय सुरक्षा संवेदनशीलताको पाटोबाट विमानस्थल अत्यन्तै महत्वको ठाउँ भएकाले त्यसलाई कमजोर गर्ने कुनै पनि प्रवृत्ति र व्यवहारलाई छुट दिन नसकिने बताए ।

गृहसचिव बिनोदप्रकाश सिंह र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहित अनुगमनमा पुगेका उपप्रधानमन्त्री श्रेष्ठलाई अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत रामबाबु सुवेदी, नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक  प्रमुख प्रतापबाबु तिवारी एवम् सुरक्षा निकायका अधिकारीले विमानस्थल प्रशासनका चालु गतिविधिहरू र नयाँ योजनाको आवश्यकताबारे रिपोर्टिङ गरेका थिए ।
 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १६:५६
प्रतिक्रिया दिनुहोस्