श्रीलङ्कामा रेमिट्यान्सको आय बढ्यो

शुक्रबार, चैत २४, २०७९

कोलम्बो– श्रीलङ्काको विप्रेषण (रेमिट्यान्स) आयमा उल्लेखनीय वृद्धि भएको छ । गत मार्चमा आप्रवासी कामदारबाट देशलाई ५६ करोड अमेरिकी डलर प्राप्त भएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायक्काराले बताएका छन् ।

अघिल्लो वर्षको सोही महिनाको तुलनामा गत मार्चमा प्राप्त विप्रेषण ७८.५ प्रतिशतले अधिक भएको श्रममन्त्रीले बताए ।  गत जनवरीमा ४३ करोड ७५ लाख तथा फेब्रुवरीमा ४० करोड ७४ लाख अमेरिकी डलर विप्रेषण देशले प्राप्त गरेको  श्रीलङ्काको केन्द्रीय बैङ्कले जनाएको छ । 

केन्द्रीय बैङ्कका अनुसार सन् २०२१ मा पाँच अर्ब ४९ करोड र सन् २०२२ मा तीन अर्ब ८० करोड डलर विप्रेषण आप्रवाह भएको थियो । प्रवासी कामदारले पठाउने रकम नै श्रीलङ्काको वैदेशिक राजस्वको प्रमुख स्रोत हो । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १३:५५
प्रतिक्रिया दिनुहोस्