पाकिस्तानको पञ्जाब प्रान्तमा १४ मेमा निर्वाचन 

शुक्रबार, चैत २४, २०७९

इस्लामावाद– पाकिस्तानको निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेशअनुसार आगामी मे १४ मा निर्वाचन गराउने घोषणा गरेको छ । बुधबार देशको सर्वोच्च अदालतले चुनाव गराउन निर्देशन दिएको थियो । 

सुरक्षा र आर्थिक सङ्कटलाई देखाएर आयोगले यही एप्रिल १० देखि अक्टोबर ८ सम्म निर्वाचन गराउन नसकिने बताएपछि आयोगको उक्त निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो । प्रधानन्यायधीश उमर अता बन्दियाल नेतृत्वको तीन सदस्यीय इजलासले पञ्जाबको विधानसभा निर्वाचनको मिति तोकेरै फैसला गरेको हो । 

सर्वोच्च अदालतको निर्णयसँगै आयोगले पनि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । उम्मेदवारी दर्ता सम्बन्धमा मतदान अधिकृतको निर्णयविरुद्ध अपील गर्ने अन्तिम मिति अप्रिल १० कायम गरिएको छ भने १७ अप्रिलभित्रमा उजुरीको छिनोफानो लगाएर अन्तिम उम्मेदवारको नामावली १८ अप्रिलमा सार्वजनिक गर्नुपर्नेछ । 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  ०५:४५
प्रतिक्रिया दिनुहोस्