चितवनको चौकीडाँडामा ९ करोडको लगानीमा खानेपानी

बिहीबार, चैत २३, २०७९

चितवन– भरतपुर महानगरपालिका–२९ रु नौ करोडको लागतमा  खानेपानी योजना सम्पन्न भएको छ । योजना सम्पन्न भएपछि यहाँका तीन सय ५० परिवार लाभान्वित भएका छन् ।  

सङ्घीय सरकार र प्रदेश सरकारको रु पाँच करोड ९५ लाख,  भरतपुर महानगरको रु एक करोड ७५ लाख तथा स्थानीयको रु ६२ लाख  बराबरको श्रमदानबाट खानेपानी योजना निर्माण भएको हो । पाँच वर्षपछि उक्त योजना सम्पन्न भएको हो । योजना सञ्चालनमा आएपछि लामीडाँडा, थाम डाँडा,  लामा गाउँ, कमलपुर, ढुङ्ग्रे, चिप्लेटी, तल्लो चिप्लेटी, आरुबोटे र सतीडाँडाका बासिन्दा लाभान्वित भएका छन् । 

स्थानीय सुशीला गुरुङले आधा घन्टाभन्दा बढी हिँडेर खानेपानी ल्याउनुपर्ने बाध्यता हटेको बताए । भोर्ले खोलाभन्दा माथिको गुण्डा खाालाबाट पानी ल्याउनुपर्ने बाध्यता आयोजना सञ्चालनमा आएसँगै हटेको छ । योजनाका सचिव केशव ढकालले भने, ‘बोत्तलमा पानी थापेर ल्याउनुपर्ने बाध्यता अब हटेको छ ।’

 आयोजनाअन्तर्गत एउटा मुहान रहेको छ भने ८० लाख लिटरको कलेक्सन ट्याङ्की छ । थामडाँडामा दुई लाख लिटरको वितरण ट्याङ्की निर्माण गरिएको छ । वडाध्यक्ष सूर्यबहादुर गुरुङले महानगरपालिकाको एक मात्र पहाडी क्षेत्रमा सधैँको खानेपानी समस्या समाधान भएको बताए ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्