Nic Ad Nic Ad
Nic Ad Nic Ad

वैशाखभित्रै खानीखोला–१ बाट २५ मेगावाट विद्युत् उत्पादन हुने

पुसदेखि पूर्णक्षमता विद्युत् उत्पादन 
बिहीबार, चैत २३, २०७९

काठमाडौँ– आगामी २०८० वैैशाखभित्र ४० मेगावाट क्षमताको खानीखोला–१ जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन हुने भएको छ । जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा बैशाखभित्र २५ मेगावाटको पहिलो विद्युत् उत्पादन परीक्षण थालिने आयोजनाले जनाएको छ ।

ग्रिनलाइफ हाइड्रोपावर कम्पनीले प्रबद्र्धन गरिरहेको उक्त जलविद्युत् आयोजनाको हालसम्म ९७ प्रतिशत निर्माण सम्पन्न भएको छ । आयोजनाको सम्पूर्ण निर्माण अन्तिम चरणमा पुगेको र आउँदो वैशाखभित्र कम्तीमा २५ मेगावाट विद्युत्को उत्पादन परिक्षण थालिने योजना रहेको कम्पनीका निर्देशक भूषण थापाले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा वैशाख १५ भित्र २५ मेगावाटको विद्युत् उत्पादन परिक्षण थालिनेछ । र, थप १५ मेगावाट विद्युत् आगामी २०८० पुसभित्र उत्पादन सुरु गरिनेछ । निर्माणाधीन उक्त आयोजना दोलखाको गौरीशंकर गाउँपालिकाको साबिक मार्बु– ९ को खानी खोला र हनबू खोलाको दोभानमा पर्छ । पावरहाउस निर्माण भूमिगत रूपमा निर्माण भइसकेको छ । खानी खोलालाई फर्काएर साँढे २ किलोमिटर हेडरेस सुरुङ निर्माण गरी विद्युत् उत्पादन गरिनेछ । 

नेपाली ठेकेदार इन्फ्रा बिल्डर्स कम्पनीले निर्माण गरिरहेको सो आयोजना सन् २०१२ मा निर्माण सुरु भएको थियो । ४ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु भएको आयोजना तोकिएको समयमा सम्पन्न हुन भने सकेन । कारण, गत २०७२ बैशाख १२ मा भएको भूकम्प, भारतले लगाएको अघोषित नाकाबन्दी, कोरोना महामारीजन्य परिस्थितिले आयोजनाको निर्माणमा प्रत्यक्ष असर पुर्यायो । निर्माण अघि बढ्न सकेन । यी लगायतका विभिन्न कारणले आयोजना निर्माण लम्बिदै गएको छ । 

आयोजनास्थलमा पुग्ने करिब ३० किमी पहुँचमार्ग निर्माणको काम पनि आयोजना आफैँले निर्माण गरिसकेको छ । भार्लेदेखि पावरहाउस कोप्लाङसम्मका सडक आयोजनाको आफ्नै लगानीमा निर्माण भएका छन् । आयोजनाको कूल लागत ६ अर्ब ३९ करोड ३८ लाख अनुमान गरिएको छ । यसअनुसार प्रतिमेगावाट लागत १६ करोड पर्ने देखिन्छ ।

आयोजनास्थलदेखि नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन सिंगटीसम्म २५ किमी प्रसारणलाइन निर्माण भइरहेको छ । सिंगटी लामोसाँघु प्रसारण लाइनको काम पनि ग्रिनलाइफकै प्रबद्र्र्धकहरूले नै गरिरहे तापनि त्यसको पनि काम समयमा पूरा हुनेमा आशंका छ । यसकारण पनि एक वर्षअघि यसको विद्युत् उत्पादन हुनेमा आशंका छ ।

प्रसारणलाइनकै कारण आयोजना ढिला भएको हो । आयोजनाको काम ढिला हुँदा लागतसमेत बढेको छ । आयोजनाले विद्युत् विकास विभागबाट विसं २०६८ वैशाखमा विद्युत् उत्पादन गर्ने अनुमति पाएको थियो । 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  ०८:२४
प्रतिक्रिया दिनुहोस्