उद्योग मेला महोत्सवबाट उद्यमी उत्साहित

बुधबार, चैत २२, २०७९

ताप्लेजुङ –गत वर्ष आयोजना भएका औद्योगिक मेलापछि उद्योगी व्यवसायीबाट राम्रो प्रतिक्रिया पाउँदा घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले यस वर्ष पनि मेला आयोजना गरेको छ । सदरमुकाम फुङ्लिङमा औद्योगिक कृषि तथा पर्यटन मेला लागेको छ । मेलामा यस वर्ष कोसी प्रदेशका विभिन्न जिल्लाका उद्यमी एकैठाउँमा जम्मा भएका छन् । सबैले आफ्ना उत्पादन ल्याएर प्रदर्शनसहित बिक्री गरिरहेका छन् ।

पाँचथरको मिक्लाजुङ–१ बाट अघिल्लो वर्ष किबी, गुराँसका जुस, अचारलगायतका उत्पादन लिएर आउनुभएकी जुनु लावती यस वर्ष पनि मेलामा विभिन्न उत्पादन बोकेर आएका छन् । ‘औद्योगिक मेला महोत्सवले हामी साना उद्योगी व्यवसायीलाई फाइदा भएको छ, पहिले यसरी मेला महोत्सव खासै हुँदैनथे, आजभोली समय–समयमा हुने मेला महोत्सवले उत्साह मिलेको छ’, उनले भने । सबै क्षेत्रका उद्योगी, व्यवसायी र ग्राहकसँग सम्बन्ध विस्तार गर्न मेला तथा महोत्सवले सहयोग पुगेको लावतीले बताए ।

उद्योग मेलामा भएको प्रदर्शनले टाढा–टाढाका ग्राहक जोडिने र समय–समयमा माग आइरहन्छ ।

झापाको भद्रपुरबाट हस्तकलाका सामान लिएर आएकी गीता शाक्यले उद्योग मेलाबाट थप प्रेरणा र हौसला मिल्ने गरेको बताइन् । ‘हामी उत्पादन लिएर विभिन्न जिल्लामा आयोजना भएका उद्योग मेलामा पुगेका छौँ, यसले नवीनतम् उत्पादन र सोचको विकासमा सहयोग पुग्यो, समय–समयमा हुने उद्योग मेलाले थप प्रेरणा र हौसला मिलेको  छ’, उनले भने ।

बाँस र काठबाट बनेका हस्तकलाका सामग्री विदेशमा समेत निर्यात गर्न थालेको शाक्यले बताए । अष्ट्रेलिया, अमेरिकालगायत देशमा उत्पादन पठाउने गरेको उनको भनाइ छ ।

२०६१ सालदेखि उद्योग सञ्चालन गर्दै आएकी शाक्यले आफ्नो उद्योगमा ४ जनालाई रोजगारी प्रदान गरेको बताइन् ।

सदरमुकाम फुङ्लिङकी माया गुरुङ पनि अलैँचीबाट निर्मित विभिन्न घरायसी प्रयोगका सामानसहित मेलामा आएकी छन् । उद्योगबाट महिनौँ दिनमा बिक्री हुने सामान मेला महोत्सवमा एकै दिनमा बिक्री हुने गरेको उनको अनुभव छ । 

महोत्सवमा स्थापित उद्योगी व्यवसायीको ज्ञान, सीप र अनुभवसमेत लिन पाइने भएकाले यसले नयाँ सोच भएकालाई फाइदा पुग्ने उद्यमी विष्णु श्रेष्को भनाइ छ ।

यस्तै स्थानीय कच्चा पदार्थको अधिकतम् उपयोग गरी रोजगारी सिर्जना गर्न र सर्वसाधरणलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउन सबैले सहयोग गर्नुपर्ने आवश्यकता भएको सरोकारवालाले बताएका छन् । जति उद्यमी सिर्जना गर्न सकियो उति नै बेरोजगार घट्ने र देशको अर्थतन्त्रमा सहयोग पुग्ने सरोकारवालाले बताएका छन् । 

औद्योगिक कृषि मेला २५ चैतसम्म चल्नेछ । मेलामा पाँचथर, तेह्रथुम, धनकुटा, झापा, इलामलगायत जिल्लाका उद्यमी तथा व्यवसायी सहभागी छन् ।

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १४:५८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार