मदन भण्डारी राजमार्ग लक्षित समयमा सम्पन्न नहुने

शनिबार, चैत १८, २०७९

काठमाडौं-मदन भण्डारी राजमार्ग आयोजना लक्षित समयमा सम्पन्न नहुने भएको छ । बर्सेनि कम बजेट विनियोजन हुँदा राष्ट्रिय प्राथमिकताप्राप्त यो आयोजना निर्धारित मितिमा सम्पन्न नहुने भएको हो ।

आगामी आर्थिक वर्ष २०८१/८२ सम्ममा सम्पन्न गर्नुपर्ने आयोजना अन्तर्गत कतै निर्माण भर्खर सुरु भएको छ त कतै–कतै ठेक्कामा जानसमेत बाँकी रहेको जनाइएको छ ।

आयोजनाले हालसम्म ४५४ किमी ठेक्का व्यवस्थापन भएकामा २६३ किमी सम्पन्न भएको छ । अझै २८६ किमी ठेक्कामा जान बाँकी रहेकामा १८० किमी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको आयोजनाले जनाएको छ ।

यस खण्डमा स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल पठाइएको आयोजनाका सूचना अधिकारी शिवशरण तिमल्सिनाले बताए । चालू आवमा सरकारले २४ किमीको लक्ष्य राखेको छ। उनले भने, ‘अहिलेसम्मको बजेट विनियोजन, अर्थ मन्त्रालयबाट दिइने स्रोत सुनिश्चितता, बहुवर्षीय ठेक्का सहमतिका आधारमा त्यो अवधिमा नसकिने देखिएको छ ।’

आयोजनाका लागि सुरु विनियोजित बजेट नै कम हुने गरेको छ । वार्षिकरूपमा ५ अर्ब रुपैयाँमाथि खर्च हुने भए पनि चालू आवमा सुरु विनियोजन २ अर्ब ८२ करोड रुपैयाँ थियो । उनले भने, ‘कम्तीमा गत आव जतिको खर्च हुन्छ । आवको अन्त्यमा जाँदा बर्सेनि थप बजेट माग्नुपर्ने अवस्था रहेको छ ।’

बर्सेनि विनियोजित बजेट न्यून हुँदा आवको अन्त्यमा थप बजेट माग्नुपर्ने अवस्था रहँदै आएको छ । निर्माण व्यवसायीले बिल पेस गरेर रकम माग गर्दै आएका छन् तर समयमा पैसा नपाएपछि काम सुस्त हुने गरेको उनले बताए । यसले गर्दा मजदुरले ज्याला नपाउने र निर्माण सामग्रीको पैसा दिन नसकेपछि पैसा नआउँदासम्म काम रोक्नुपर्ने हुनसक्ने उनको भनाइ छ ।

आयोजनाअन्तर्गत ठेक्कामा जान बाँकी सडक र पुल दुवैका आधारमा तोकिएको अवधिमा आयोजना सम्पन्न नहुने देखिएको सूचना अधिकारी तिमल्सिनाले जानकारी दिए । बहुवर्षीय ठेक्का सहमति चाहिने र अर्थ मन्त्रालयबाट सहमति आएपछि ठेक्का व्यवस्थापन गर्न केही समय लाग्ने उनले बताए ।  

अहिले चलिरहेको ठेक्काको प्रगति राम्रो रहेको आयोजनाको दाबी छ । समयमा बजेट र स्रोत सुनिश्चितता नहुँदा कति वर्षमा सकिन्छ भन्न नसकिने भए पनि बजेट पर्याप्त हुँदा अबको ३ देखि ४ वर्षमा सम्पन्न गर्न सकिने सूचना अधिकारी तिमल्सिनाले जानकारी दिए । 

ठेक्कामा जान बाँकी पुल छोटा र लामा दुवै किसिमका छन् । कणार्ली नदीलगायत ठूला नदीमा पुल बनाउनुपर्ने रहेकामा त्यो लामो हुने देखिएको छ । अरुतिर डेढदेखि २ सय मिटरसम्मका पुल निर्माण गर्नुपर्ने उनले बताए । 

अहिले निर्माण भइरहेको धरान–झापा खण्डमा जम्मा ७ मिटर मुख्य सडक र दुवैतर्फ २÷२÷ मिटर नाली र पैदलयात्रुमार्ग गरी ११ मिटर रहेको छ । तराईमा ११ मिटर भए पनि पहाडमा छेउ संरचनाको भाग घटाएर डेढ मिटर त कतै ७५ सेन्टिमिटरमात्रै गरेर घटाइएको छ ।

सडकको चौडाइको समस्या बजार क्षेत्रमा बढी छ । साविकको बाटो चौडा गर्दा घर र टहरा पर्ने ठाउँमा समस्या रहेको उनले बताए । निर्माणाधीन अरु सडकमा जस्तै यो राजमार्गमा पनि सडकको अधिकार क्षेत्रका कारण समस्या आइरहेको छ । धरान, सुनसरी, मोरङ र झापामा अहिले निर्माणको काम भइरहेको छ । जुन–जुन ठाउँमा निर्माण भयो त्यहाँ–त्यहाँ समस्या आइरहेको उनले बताए ।   

अन्य निकायले यसअघि नै निर्माण भइरहेका सडकलाई कतिपय ठाउँमा अरु राजमार्गसँग जोड्ने वा गाभिने गरी सडक निर्माण गरिएको आयोजनाले जनाएको छ । विगतमा सञ्चालनमा रहेका सडक जोडेर बनाइएकाले पनि भइरहेको सडकको स्तरोन्नतिको काम बढी रहेको उनले बताए । उनले भने, ’हेटौँडाबाट गैंडाकोटसम्म महेन्द्र राजमार्ग, सिन्धुलीमा बिपी राजजमार्ग, पश्चिममा रत्न राजमार्गमा गएर राजमार्ग मिसिएको छ ।’ 

राजमार्गको स्तरमा नभएका स्थानमा पनि २ लेनमा सडक स्तरोन्नति गरिने छ । अहिले रिडी–तम्घासको २५ किमी खण्डमा २ लेनमा स्तरोन्नति भइरहेको छ । 

राजमार्ग निर्माणका क्रममा रुख कटानको समेत समस्या आइरहेको छ । धरान–झापामा वन कटानका लागि परिमार्जित अध्ययन गरेर सहमति लिन फाइल उठाइएको उनले बताए । आयोजनाअन्तर्गतका योजना कार्यालयले अहिले धरान–झापा, गुल्मी, सुर्खेतलगायतका जिल्लामा काम गरिरहेका छन् । पूर्वी खण्डमा धरान–झापा खण्डमा केही बाँकी छ भने पश्चिम खण्डमा बढी काम बाँकी रहेको छ ।

पूर्व–पश्चिम जोड्ने चौथो राजमार्गका रूपमा रहेको यो राजमार्गको लम्बाइ १ हजार ३९० किमी छ । ती मध्ये पनि आयोजनाले ७४० किमी सडक र १८५ पुलको निर्माण गरिरहेको छ ।

६ जेठ २०७५ मा सरकारले मदन भण्डारी राजमार्ग नामकरण गरेर निर्माण सुरु गरेको हो । त्यतिबेला लक्ष्य निर्धारण नभए पनि सरकारले नीति तथा कार्यक्रममा आव २०८१÷८२ मा सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको थियो ।  
 

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १५:०३
प्रतिक्रिया दिनुहोस्