नेभिगेशन
अर्थ विविध

बागमतीमा राजस्व लक्ष्यभन्दा कम

हेटौँडा –आन्तरिक राजस्व कार्यालय हेटौँडाले चालु आर्थिक वर्षको ९ महिनामा ४ अर्ब ४ करोड ३८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको राजस्व सङ्कलन लक्ष्य ४ अर्ब ३५ करोड ९ लाख ४० रुपैयाँ रहेकामा कार्यालयले यस अवधिमा ४ अर्ब ४ करोड ३८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको जनाइएको छ । लक्ष्यको तुलनामा झन्डै ३१ करोड रुपैयाँ कम राजस्व सङ्कलन भएको हो ।

कार्यालयका सूचना अधिकारी अवधेशकुमार यादवका अनुसार कार्यालयले यस अवधिमा आयकरवापत ५८ करोड  ५९ लाख २१ हजार रुपैयाँ, घरवहाल करवापत १ करोड २ लाख ८४ हजार रुपैयाँ, ब्याज करवापत ४ करोड ७३ लाख ९ हजार रुपैयाँ, मूल्यअभिवृद्धि करवापत ६० करोड १६ लाख १३ हजार रुपैयाँ, स्वास्थ्य करवापत ४२ करोड १३ लाख ५२ हजार तथा शिक्षाकरवापत ४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

बजार व्यवसायमा आएको कमी, उद्योगहरूको उत्पादन, बिक्री घट्नु र विकास निर्माणका कमीले लक्ष्यअनुसार राजस्व सङ्कलनमा कमी आएको जनाइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध