तामाकोसी–५ जलविद्युत् आयोजनाको ठेक्का रद्ध

शुक्रबार, चैत १७, २०७९

काठमाडौँ– दोलखामा निर्माण हुन लागेको तामाकोसी– ५ जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया रद्ध भएको छ । यसअघि ठेक्कामा भाग लिएका कम्पनीको बोलपत्र सारभूत रूपमा प्रभावग्राही नदेखिएपछि आयोजनाले सो ठेक्का रद्द गरेको हो ।

अनुमानित लागतभन्दा बढी मूल्यमा आर्थिक प्रस्ताव परेकाले ठेक्का रद्द गरिएको आयोजनाले जनाएको छ । सिभिल र हाइड्रोको मेकानिकलतर्फको ठेक्कामा चिनियाँ कम्पनी सिनो हाइड्रो र गेजुवा प्राविधिक मूल्यांकनमा पास भएका थिए ।


दुवै कम्पनीको आर्थिक प्रस्ताव खोल्दा कबोल रकम अनुमानित लागतभन्दा उच्च देखिएकले ठेक्का प्रक्रिया नै रद्द गनुपरेको तामाकोसी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले बताए ।

४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ‘क्यासकेड’ प्रोजेक्टको रूपमा तामाकोसी पाँचौ हो । माथिल्लो तामाकोसीको ‘टेलरेस’ सुरुङबाट निस्केको पानी प्रयोग गरेर ९९.८ मेगावाट बराबर बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढाइएको आयोजनाको १६ अर्ब ४५ करोड लगानी लगानी बोर्ड, नेपालबाट स्वीकृत भइसकेको छ ।

आयोजना पनि पूर्णरुपमा स्वदेशी लगानीमा नै निर्माण हुनेछ । माथिल्लो तामाकोसीकोे विद्युत् गृह रहेको ठाउँबाट टेलरेस सुरुङहुँदै बाहिर निस्केको पानी प्रयोग गरेर निर्माण गर्न लागिएको यो आकर्षक आयोजना हो ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १३:३५
प्रतिक्रिया दिनुहोस्