फिलिपिन्स पानीजहाज आगलागी अपडेट : ३१ जनाको मृत्यु, ७ बेपत्ता

शुक्रबार, चैत १७, २०७९

मनिला– दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार २३ जना घाइते भएका छन् ने सातजना अझै हराइरहेका छन् । 

बुधबार गएराति जहाजमा आगो लागेपछि चालक दलका ३५ जना सदस्य र एक सय ९० जना यात्रीलाई तट रक्षक र माझीहरूको सहयोगमा सकुशल उद्धार गरिएको सरकारी अधिकारीहरूले बिहीबार जनाएका छन् । पानी जहाजमा दुई सय ५० भन्दा बढी यात्री रहेका बताइएको छ । 

लेडी मेरी जोय–३ नामको पानीजहाज मिन्डानाओ टापुको जाम्बोआङ्गा शहरबाट सुलु प्रान्तको जोलो टापुतर्फ गइरहेका बेला आगो लागेको थियो । 

सात हजारभन्दा बढी टापुको द्वीपसमूह फिलिपिन्समा अव्यवस्थित समुद्री यातायात, नियमित अनुगमनको अभाव र भीडभाडका कारण बेलाबेलामा यस्ता दुर्घटना हुनेगरेका छन् । 

सन् १९८७ को डिसेम्बरमा डोना पाज नामको पानीजहाज इन्धन बोकेको अर्को जहाजसँग ठोक्किएर डुब्दा चार हजार तीन सयभन्दा बढीको मृत्यु भएको थियो । शान्तिकालमा समुद्री भवितव्यमा परेर विश्वमा त्यति धेरै मानिसको एकैपटक ज्यान गएको इतिहास छैन । 
 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  ०५:४९
प्रतिक्रिया दिनुहोस्