विकासको सुस्त गति 

मदन भण्डारी राजमार्ग : ७ वर्षमा बल्ल ६५ प्रतिशत काम, २८६ किमीको ठेक्का कहिले ?

बिहीबार, चैत १६, २०७९

काठमाडौं– मदन भण्डारी राजमार्ग आयोजना निर्माणमा ढिलाइ भएको छ ।  ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको उक्त आयोजना अहिलेसम्म पनि पूरा हुन सकेको छ्र्रैन् । आर्थिक वर्ष २०७६-७७ भित्र राजमार्ग निर्माणको काम सम्पन्न  गर्ने लक्ष्य साथ आव २०७३-७४ देखि निर्माण सुरु गरिएको थियो । तर, निर्माणमा भएको चरम ढिलाइका कारण ७ वर्षमा आयोजनाको बल्ल ६५ प्रतिशत मात्र भौतिक प्रगति छ । 

निर्माणमा देखिएको सुस्तताको असरले आयोजना थप पर धकेलिने निश्चित जस्तै छ । अर्थात आयोजनाको संशोधित कार्यतालिका २०८१-८२ भित्र सम्पन्न हुन नसक्ने आयोजनाकै अधिकारीहरू स्वीकार्छन् । किनकि, पछिल्लो समय पनि आयोजना निर्माणले अपेक्षित गति लिन सकेको छैन् ।

कुल १३९० किलोमिटर सडकमध्ये आयोजनाको क्षेत्राधिकारभित्र ७४० किमीको सडक विस्तार र कालोपत्रे गर्नुपर्छ । त्यसमध्ये हालसम्म २६५ किमी सडक निर्माण भइ कालोपत्रे भइसकेको मदन भण्डारी राजमार्ग आयोजनाका सिनियर डिभिजन इन्जिनियर बद्रीप्रसाद शर्माले सिएन नेपाललाई जानकारी दिए । 

उनका अनुसार राजमार्गमा निर्माण हुने १८५ पुलमध्ये हालसम्म १०० वटा पुलको निर्माण सम्पन्न गरिसकेको छ । आयोजनाको सुरुवाती कुल ४५ अर्ब लागत अनुमान गरिएकोमध्ये हालसम्म २८ अर्ब रुपैयाँ खर्च भइसकेको इन्जिनियर शर्माले बताए । 

कुल ७४० किमीमध्ये हालसम्म ४५४ किमीको मात्र ठेक्का लगाएर सडक निर्माणको काम धमाधम भइरहेको उनले बताए । तर, बाँकी २८६ किलोमिटरको ठेक्का अहिलेसम्म लाग्न सकेको छैन । हालसम्म ठेक्का नलाग्दा आयोजनाको समय र लागत बढ्नुका साथै सरकारको दायित्व पनि थपिएको उनको भनाइ छ ।

madan b handari road-1680146687.jpg

‘हाम्रो कार्यक्षेत्रभित्र पर्ने ७४० किमीमध्ये ४५४ किमीको मात्र ठेक्का लगाएर काम भएको छ । तर, बाँकी २८६ किमीमा अहिलेसम्म पनि ठेक्का लगाउन सकिएको छैन । बजेटको सीमितताले दायित्व बढिरहेको छ,’ उनले भने ।

बहुवर्षे ठेक्काका रूपमा बजेट माग गरिए पनि त्यसअनुसार बजेट नपाउँदा सडक निर्माणमा ढिलाइ भइरहेको उनले बताए । 

‘हामीले बाँकी ठेक्कापट्टा गर्नै पाएका छैनौं । सरकारले बहुवर्षे ठेक्काका रुपमा बजेट सुनिश्चितता गरिदिनुपर्ने थियो । त्यो नगर्दा पनि बजेटकोे सिमितताले दायित्व बढेको छ,’  उनले जानकारी दिए । 

निर्माणमा देखिएको ढिलाइका कारण म्याद थप गर्दै पछिल्लो शंसोधित कार्यतालिका २०८१-८२ सम्म पनि आयोजना सम्पन्न हुनेमा आयोजनाकै कर्मचारी विश्वस्त छैनन् ।  अहिलेसम्म पनि बाँकी सडक खण्डको ठेक्का लगाउन नसक्दा आयोजना निर्माण झनै लम्बिने देखिएको छ । 

तोकिएको समयसीमा अर्थात आगामी २ वर्षभित्र अहिलेसम्म ठेक्का लगाएको र काम भइरहेको सडकखण्डको मात्र काम सकिने उनी बताउँछन् । ‘आयोजनाकोे सम्पूर्ण काम कहिलेसम्म सकिन्छ, यकिन भन्न नसकिएला, तर, जति ठेक्का लगाएका छौँ र निर्माण भइरहेको सडक खण्डको काम २ वर्षभित्र सक्छौं,’ उनले भने ।

चुरे र भित्री मधेसका जिल्लालाई जोड्ने गरी भएका सडकमा थप २ लेनमा सडक विस्तार गरिनेछ । अर्थात, मदन भण्डारी सडकले पूर्व–पश्चिम राजमार्ग, स्थानीय राजमार्ग, मध्यपहाडी लोकमार्गलगायतलाई पनि छुने गर्छ ।

त्यस्ता क्षेत्र गरी कुल ६५० किमीमा सडकमार्ग पर्ने हुँदा सामान्य मर्मत र सम्भार गर्ने योजना छ । बाँकी ७४० किलोमिटरमा मात्र सडकको नयाँ ट्रयाक देखि कालोपत्रे सम्मको काम गर्नुपर्छ ।

नेपाल सरकारको लगानीमा निर्माण भइरहेको उक्त सडक आयोजनामा अधिकांश नेपाली कामदार कार्यरत छन् । खासगरी, सुदूरपश्चिम र कर्णाली क्षेत्रमा अधिकांश सडकखण्डको ठेक्का लगाउन बाँकी छ । खासगरी रोल्पा, डोटी, डडेल्धुरालगायतका सडक खण्डको ठेक्का व्यवस्थापन अहिलेसम्म पनि हुन सकिरहेको छैन । जग्गा अधिग्रहणमा समस्या र स्थानीयको अवरोधकै कारणले अहिलेसम्म उक्त सडक खण्डमा ठेक्का नलागेको आयोजना पक्षले जनाएको छ । 

बाँकी सडक खण्डको ठेक्का कहिले लाग्छ, त्यो यकिन नभएको आयोजनाले जनाएको छ । मदन भण्डारी राजमार्ग आयोजनाअन्र्तगत पूर्वदेखि पश्चिम खण्डमा ५ वटा योजना कार्यालय छन् । ती कार्यालयमार्फत अहिले सडक निर्माण, मर्मत र विस्तारको काम भइरहेको छ । 

चालू आवमा मदन भण्डारी राजमार्गका लागि २ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन भएका थियो भने आगामी आव २०८०-८१ मा बजेट अझै घटेको छ । आगामी आवका लागि १ अर्ब ९० करोड मात्र विनियोजन गर्ने सुनिश्चितता भएको छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  ०९:१०
प्रतिक्रिया दिनुहोस्