नेभिगेशन
अर्थ विविध

किसानलाई कृषि मिटर

सर्लाही–चन्द्रनगर गाउँपालिकाले गाउँपालिकाभित्रका किसानलाई कृषि मिटर उपलब्ध गराउने भएको छ । किसानलाई खेती गर्न सहज बनाउँदै आधुनिकतातर्फ लैजाने उद्देश्यले  विद्युत् प्राधिकरणसँग समन्वय गरी कृषि मिटर जडान गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताए ।

विद्युत् मिटरका लागि पालिकाभित्रका किसानले मलङ्गवासम्म धाउँदा समय, खर्च र हैरानी ब्यहोर्नुपर्ने अवस्था रहेकामा मिटर जडान गरिएपछि समस्या समाधान हुने चन्द्रनगर गाउँपालिका–७ का किसान शिवकृष्ण कुर्मीको भनाइ छ ।

विद्युत् प्राधिकरण वितरण केन्द्र मलङ्गवाले कहिले यो मिलेन कहिले त्यो कागज मिलेन भनेर दुःख दिने गरेको बताउँदै किसान रजाउल मन्सुरले एउटा काम गराउन महिनाँै कुर्नुपर्ने अवस्था अब अन्त्य हुने विश्वास व्यक्त गरे ।

 पालिकाले विद्युत् प्राधिकरणसँग समन्वय गरी विद्युत् महसुल पालिकाले नै तिरिदिने गरी मिटर जडान गर्ने योजना बनाइएको गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी महतोले जानकारी दिए ।

मिटर जडान गर्न मिटर आवेदन फारम भर्ने र पेस गर्ने, फारम रुजु गर्ने, स्वीकृत गर्ने, मिटर खर्च भौचर भर्ने, मिटर दस्तुर बुझ्ने, मिटरको लगत कायम गर्ने, मिटर जडान गरी बत्ती बाल्नेलगायत सबै चरणको काम सुरु भइसकेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मलङ्गवाका प्रमुख उमेश यादवले जानकारी दिए ।

७ वडामा करिब ३८ हजार जनसङ्ख्या रहेको छ । यहाँका अधिकांश नागरिक कृषि पेसामा आबद्ध रहेका गाउँपालिकाको कृषि शाखाले जनाएको छ । चालु आर्थिक वर्ष २०७९÷८० मा कृषि विद्युतीकरण र किसानको बिल भुक्तानीका लागि गाउँपालिकाले १ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको थियो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मदनबहादुर थिङका अनुसार २९ पुसमा सम्पन्न १२औँ गाउँसभा बैठकबाट पालिकाभरिका किसानले सिँचाइ गर्दा उठेको महसुल पालिकाले तिरिदिने निर्णय गरेको थियो । यस क्षेत्रमा धान, मकै, गहुँलगायत तरकारी खेती पनि व्यावसायिक रूपमा हुने गरेको कृषि शाखाले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध