अमेरिकाको एक प्राविमा गोलीकाण्ड : ३ बालबालिकासहित ६ जना मारिए

मंगलबार, चैत १४, २०७९

नासभिल– अमेरिकाको नासभिलस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा तीनजना बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । यहाँको कोभिन्ट प्राथमिक विद्यालयका पूर्वविद्यार्थीले गोली चलाएको प्रहरीको अनुमान छ । 

आक्रमणमा नौ वर्षका तीनजना बालबालिका तथा ६० वर्षभन्दा माथिका तीनजना शिक्षक मारिएका प्रहरीले जनाएको छ । आक्रमणकारी २८ वर्षीय अड्रे हेललाई पनि प्रहरीले कारबाहीमा मारेको छ । 

तीन देखि ११ वर्षका बालबालिकालाई पढाइने उक्त विद्यालय निजी क्षेत्रबाट सञ्चालित क्रिश्चियन स्कुल हो । 

गत वर्ष टेक्सासको उभाल्डेमा रहेको एउटा प्राथमिक विद्यालयमा भएको आम नरसंहारको घटना सेलाउन नपाउँदै भर्जिनियाको अर्को विद्यालयका कक्षा एकमा पढ्ने बालकले आफ्नै शिक्षिकामाथि गोली प्रहार गरेका थिए । गत साता डेनभरमा पनि विद्यालयमा भएको गोलीकाण्डमा दुई जना घाइते भएका थिए । 

आएको एक अमेरिकी संस्थाका अनुसार सन् २०२३ प्रारम्भ भए यता एक सय २९ वटा गोलीकाण्ड भइसकेका छन् जसमा चार जनाभन्दा बढीको ज्यान गएको छ । 

यसैबीच, गोलीकाण्डबाट आहत भएका राष्ट्रपति जो बाइडेनले बन्दुक हिंसाविरुद्धको अभियानलाई पूर्णता दिन अमेरिकी विधायकलाई पुनः आह्वान गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १२:३८
प्रतिक्रिया दिनुहोस्