मुग्लिन–पोखरा सडक विस्तार तोकिएकै समयमा नसकिने, पोल र पाइप नहट्दै ठेक्का !

मंगलबार, चैत १४, २०७९

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा निर्माणधीन मुग्लिन–पोखरा सडक विस्तारको काम तोकिएको समयभित्र सम्पन्न नहुने भएको छ । आयोजनाको पूर्वीखण्ड आबँखैरेनी–जामुनेसम्मको सडक विस्तारको काम हालसम्म २१ प्रतिशत मात्र सकिएको छ  ।

निर्माण सुरु भएको झन्डै २ वर्षमा २१ प्रतिशत मात्र सडक विस्तारको काम सकिएको हो । उक्त सडकखण्डको विस्तारको काम सन् २०२१ अप्रिल १५ देखि सुरु भएको थियो । सडकखण्डको पूर्वी खण्डमा अहिले बाटो चक्ल्याउने, रिटेनिङ वाल, कल्भर्ट निर्माणलगायतका काम भइरहेको पूर्वी खण्डका आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । 

पूर्वीखण्डको सडक विस्तार चाइना कम्युनिकेसन कन्ट्रक्सन कम्पनीले निर्माण गरिरहेको छ । गत २०७९ जेठदेखि औपचारिक निर्माण सुरु भएको सो सडक विस्तारको काम धीमा गतिमा भइरहेको हो । तोकिएका समयसीमा सकिन अब १४ महिना बाँकी छ । त्यो अवधिसम्ममा सम्पूर्ण काम सकिने अवस्था नरहेको आयोजना प्रमुख सुवेदी बताउँछन् । ‘तोकिएको अवधिमा त नसकिएला । केही समय म्याद थप्नुपर्ने हुन्छ । केही काम बाँकी रहलाँन भन्ने लाग्छ,’ उनले भने ।

कुल ४१ किलोमिटर पर्ने पूवीखण्डको काम आगामी सन् २०२४ अप्रिल १४ भित्र सम्पन्न गर्ने समयसीमा छ । तथापि, कामको अहिलेकै गति हेर्दा तोकिएको अवधिमा नसकिने र म्याद थप गर्नुपर्ने देखिन्छ । सो सडकखण्डमा १८ वटा पुल निर्माण हुनेछन् । ठूला प्रकृतिका ४ वटा र १४ वटा साना पुलहरू निर्माण हुने उनले बताए । सडक विस्तारका क्रममा खोला, किनार र बस्तीक्षेत्रमा मोटरबेल पुल बन्नेछन् । भएका पुराना पुललाई जोगाएर त्यसमै नयाँ पुल निर्माण थपिनेछ । भएका पुलहरू भत्क्याइने भने छैन ।

muglin-pokhara sadak (1)1679969636.png

यता, पश्चिम खण्ड  जामुनेदेखि कास्कीको सेती पुलसम्म सडक विस्तार हुनेछ । खण्डमा हालसम्म साढे ५ प्रतिशतमात्र निर्माण सकिएको आयोजना प्रमुख अमितकुमार श्रेष्ठले बताए । २०७९ जेठ देखि निर्माण सुरु भए पनि पूर्वतयारीको काम अझै सकिएको छैन ।

झन्डै ३९ किमी पर्ने पश्चिम खण्ड तनहुँको जामुने देखि कास्कीको सेती पुलसम्म सडक विस्तार हुनेछ । चिनिँया आन्ह्वी काइउन हाइवे एन्ड बृज कम्पनीले सो खण्डको ठेक्का पाएर काम गरिरहेको छ ।

सडकको दायाँ बायाँ चक्ल्याउने काम, कल्र्भटलगायतका काम भएको उनले बताए । पश्चिम खण्डको सडक विस्तार सन् २०२४ अगस्ट सम्ममा सम्पन्न गर्ने लक्ष्य छ । तोकिएको अवधिमा सो खण्डको काम सम्पन्न गर्न पनि चुनौती रहेको आयोजना प्रमुख श्रेष्ठले बताए । 

अधिकांश क्षेत्रमा बिजुलीका पोल र खानेपानीका पाइप हटाउन बाँकी रहेको उनले जानकारी दिए ।

‘तोकिएकै समयमा काम सक्न गाहे पर्ला । किनभने, पोखरा क्षेत्रमा अझै पनि बिजुलीका पोल सार्ने काम बाँकी नै छ,’ उनले भने । धेरै ठाउँमा बिजुलीको पोल सार्ने काम र बिच्छ्याइएका खानेपानीका पाइपसमेत हटाउनुपर्ने काम बाँकी नै छ । ती संरचना हटे पनि सडक विस्तारको कामले गति लिने आयोजनाले जनाएको छ । 

सरकारले अहिलेको २ लेनको सडकलाई विस्तार गरी ४ लेन बनाउने योजना बनाएको छ । त्यसअनुसार, सडक विस्तार गर्न एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको संयुक्त लगानी रहनेछ ।  

सडक विस्तारका गर्न ठेकेदार कम्पनीसँग आयोजनाले पूर्वीखण्डमा ६ अर्ब २१ करोड र पश्चिम खण्डको ७ अर्ब ४० करोडको ठेक्का सम्झौता गरिसकेको छ । मुग्लिनदेखि पोखरासम्मको करिब ८० किमी सडक ४ लेनमा विस्तार भएपछि यातायातको सहज सञ्चालन र सडक दुर्घटनामा समेत कमी आउने अपेक्षा गरिएका छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ०७:५९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार