प्रदेश नामाकरणको विरोधमा मृत्यु भएका लिम्बूको परिवारलाई ३ लाख दिइने 

सोमबार, चैत १३, २०७९

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेश नामकरणका सम्बन्धमा भएको विरोध प्रदर्शनीमा मृत्यु भएका लाजेहाङ लिम्बू (पदम लिम्बू)को परिवारलाई राहतस्वरुप रू ३ लाख उपलब्ध गराउने भएको छ । 

प्रदेश सरकार मन्त्रिपरिषदको आज बसेको बैठकले नेपाल सरकारद्वारा गठित छानविन समितिलाई सहजीकरण गर्ने र मृतकका परिवार लागि राहत दिने निर्णय गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहका महेन्द्र विष्टले जानकारी दिए।

बैठकले कलबल्गुडी झापाको निर्देशकमा अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि निर्देशकका रुपमा प्रदेश सचिव कृष्ण सापकोटालाई तोक्ने निर्णय गरेको छ । साथै पर्यटन, वन वातावरण मन्त्रालयद्वारा पेस गरिएको दुईवटा संशोधन विधेयक प्रदेश वातावरण संरक्षण ऐन २०७६ र प्रदेश वन ऐन २०७७ लाई प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेस गरिएको समपुरक अनुदान कार्यविधि संशोधन प्रस्ताव पारित गर्ने समेत निर्णय गरेको छ ।

बैठकले प्रदेश नामाकरणमा भूमिका खेल्ने प्रदेशसभा सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, प्रदेशसभा सचिवालय, प्रदेशसभामा उपस्थित सम्पूर्ण राजनीतिक दललाई धन्यवाद ज्ञापन गर्दै कोशी प्रदेशवासीलाई हार्दिक बधाई ज्ञापन गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १५:०९
प्रतिक्रिया दिनुहोस्