सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान

शनिबार, चैत ११, २०७९

पोखरा-कास्कीको मादी गाउँपालिका वडा –१ र २ मा निर्मित सुपर मादी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको छ ।

कूल ४४ मेगावाटको जलविद्युत् आयोजनाको निमार्ण सम्पन्न गरी आन्तरिक परीक्षण भई आयोजनास्थलबाट १९ किलोमिटर दूरीमा रहेको लेखनाथ सवस्टेशनमा जडान गरिएको कार्यकारी अध्यक्ष पुष्पज्योति ढुङ्गानाले जानकारी दिए ।

उनका अनुसार आयोजनाको बाँध, सुरुङमार्ग, विद्युत् गृहलगायत सम्पूर्ण क्षेत्रको काम सम्पन्न भइसकेको छ । आयोजना निर्माणमा ८ अर्ब ७० करोड रुपैयाँ खर्च भएको छ । मङ्सिर २०७५ सालदेखि निर्माण थालेको यो आयोजना चैत २०७८देखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिए पनि कोरोना महामारी तथा १ असार २०७८ मा मादी खोलामा आएको बाढीलगायत कारणले केही समय ढिलो भएको हो ।

सुरुमा ७ अर्ब ४७ करोड रुपैयाँ लागत भनिए पनि बाढी प्रकोप, बैंकको ब्याजदरमा आएको परिवर्तन, अर्थतन्त्रमा देखिएको तरलतालगायत कारणले लागत बढ्न गएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार बाढीका कारण १ अर्बभन्दा बढी नोक्सानी भएको छ । मुख्य सुरुङको लम्बाइ करिब ६ किलोमिटर रहेको र कमजोर भौगोलिक अवस्थाका कारण करिब ८ सय मिटर पेनस्टक पाइप सुरुङभित्र जडान गर्दा करिब २५ करोड रुपैयाँ लागत थपिएको जनाइएको छ । 

आयोजनाका लागि २ अर्ब १० करोड रुपैयाँ शेयर पुँजी रहेको छ । बाँकी सानिमा विकास बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, प्रभु बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कं लि.को लगानी रहेको अध्यक्ष ढुङ्गानाले जानकारी दिए ।

वार्षिक २४२ दशमलव ६५ गिगावाट घन्टा बिजुली उत्पादन हुने आयोजनाको सुपर मादी हाइड्रो पावर लिमिटेड प्रवद्र्धक एवं सिभिल ठेकेदार फेवा कन्ट्रक्सन प्रालि, हाइड्रो मेकानिकल ठेकेदार माछापुच्छ«े मेटल एण्ड मेसिनरी प्रालि र इलेक्ट्रो मेकानिकल ठेकेदार एशिया प्यासिफिक पावर टेक प्रालि र परामर्शदाता सानिमा हाइड्रो एण्ड इञ्जिनियरिङ कम्पनी छन् ।


 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १६:१४
प्रतिक्रिया दिनुहोस्