उदयपुरमा दश वर्षमा २३ हजार बढी जनसंख्या वृद्धि

शनिबार, चैत ११, २०७९

उदयपुर –उदयपुरको जनसंख्या वृद्धिदर स्थिरतातर्फ उन्मुख भएको पाइएको छ । गएको १० वर्षको अवधिमा उदयपुरको जनसंख्या २३ हजार हाराहारीमा मात्र वृद्धि हुनाले जिल्लाको जनसंख्या वृद्धिदरमा स्थिरता देखिएको हो ।

सरकारले शुक्रबार सार्वजनिक गरेको ‘राष्ट्रिय जनगणना २०७८’ को नतिजा अनुसार २०६८ को तुलनामा २३ हजार १ सय ८९ जना मात्र बढेको छ । २०७८ को गणना अनुसार उदयपुरमा ३ लाख ४० हजार ७२१ जनसंख्या पुगेको तथ्यांक कार्यालय उदयपुरले जनाएको छ । तथ्यांक अधिकृत शिवनारायण महतोका अनुसार १० वर्षअघि अर्थात् २०६८ को जनगणनामा उदयपुरमा ३ लाख १७ हजार ५३२ जनसंख्या थियो । २०७८ को तथ्यांकले वार्षिक जनसंख्या वृद्धिदर शून्य दशमलव ६८ रहेको देखाएको छ ।

पछिल्लो तथ्यांक अनुसार १७ हजार ५१० परिवार संख्या रहेको छ । कुल जनसंख्या ३ लाख ४० हजार ७२१ मध्ये पुरुष १ लाख ६३ हजार ७३८ छन् भने महिलाको संख्या १ लाख ७६ हजार ९८३ रहेका छ । त्यस्तै औसत परिवार आकार प्रति ४ दशमलव २० रहँदा लैङ्गिक अनुपात शून्य दशमलव ९३ छ भने प्रति किलोमिटर जनघनत्व १६५ रहेको छ ।

तथ्यांक अधिकृत महतोका अनुसार पछिल्लो तथ्यांकले अनुपस्थित जनसंख्या (अक्सर विदेश बस्ने) को संख्या २१ हजार १७ रहेको देखाएको छ । जसमा पुरुष १८ हजार ५१५ र महिला २ हजार ५०२ जना छन् । तथ्यांकले कुल जनसंख्यामध्ये अपाङ्गता भएकाको संख्या ९ हजार २१८ रहेको देखाएको छ । जसमा पुरुष ४ हजार ९२९ र महिला ४ हजार २८९ छन् ।

जिल्लाको साक्षरता प्रतिशत (५ वर्षमाथि) भने बढेको छ । पछिल्लो गणना अनुसार साक्षरता प्रतिशत ७७ दशमलव १७ पुगेको छ । जसमा पुरुष ८४ दशमलव ०७ र महिला ७० दशमलव ८७ प्रतिशत रहेको छ । २०६८ को गणनामा ३ लाख १७ हजार ५३२ जनसंख्या हँदा कुल साक्षरता प्रतिशत ६८ दशमलव ८१ थियो । जसमा पुरुष साक्षरता ७४ दशमलव २९ प्रतिशत थियो भने महिला ५८ दशमलव २० प्रतिशत थियो ।
 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १५:३३
प्रतिक्रिया दिनुहोस्