पाकिस्तानले मनायो ८३औँ गणतन्त्र दिवस 

शुक्रबार, चैत १०, २०७९


इस्लामाबाद– पाकिस्तानले बिहीबार ८३ औँ पाकिस्तान दिवस मनाएको छ । पाकिस्तानले हरेक वर्षको मार्च २३ लाई पाकिस्तान सङ्कल्प दिवस वा गणतन्त्र दिवसका रूपमा मनाउने गरेको छ ।

सन् १९४० को मार्च २३ मा लाहोर सङ्कल्प पारित भएको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ ।

पाकिस्तानका राष्ट्रपति आरिफ अल्वी र प्रधानमन्त्री शहबाज शरिफले छुट्टाछुट्टै सन्देश जारी गर्दै पाकिस्तानका संस्थापकहरूको ‘अथक सङ्घर्ष’प्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

राजधानी इस्लामाबादमा ३१ तोपको सलामी र प्रान्तीय राजधानीमा २१ तोपको सलामीका साथ पाकिस्तान दिवसको सुरुवात भएको थियो ।

पाकिस्तानका संस्थापक पिता मोहम्मद अली जिन्नाह र लाहोरका राष्ट्रिय कवि मोहम्मद इकबालको समाधिस्थलमा पनि गार्ड परिवर्तन समारोह आयोजना गरिएको थियो ।

यसैबीच राष्ट्रपति भवनमा हुने भनिएको सैन्य परेड राजधानी इस्लामाबादमा भारी वर्षाका कारण स्थगित गरी शनिबारका लागि सारिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सङ्कल्प दिवसका अवसरमा देशभरका सबै प्रमुख सरकारी तथा निजी भवनमा राष्ट्रिय झण्डा फहराइएको थियो । पाकिस्तानको निर्माणमा लाहोर सङ्कल्पको महत्वको उजागर गर्न सहरहरूमा जुलुस प्रदर्शन र कार्यक्रमको आयोजना गरिएको थियो ।

बिहीबार राष्ट्रपति भवनमा आयोजित एक समारोहमा राष्ट्रपति अल्वीले विभिन्न क्षेत्रमा रहेर देशका लागि उत्कृष्ट सेवा पुर्याएबापत उनीहरूलाई सम्मान, पुरस्कार तथा पदक प्रदान गरेका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ०५:४०
प्रतिक्रिया दिनुहोस्