देशको पछिल्लो आर्थिक अवस्थाले राष्ट्रपति चिन्तित

बिहीबार, चैत ९, २०७९

काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान आर्थिक अवस्थाले आफू चिन्तित भएको बताएका छन् । 

नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिए पछि  उनले जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने सुझाव दिए ।

‘सरकारले पूर्णता पाइसकेको छैन । सरकारले पूर्णता पाए लगत्तै प्रधानमन्त्री र अर्थमन्त्रीलाई बोलाएर तत्काल सम्बोधन गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराउँछु,’ उनले भने । 

वर्तमान संकट समाधनका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने पौडेलले बताए । देशभित्र उत्पादन वृद्धि एवं रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए ।

राष्ट्रपति कार्यालयमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको पदाधिकारीले नवनियुक्त राष्ट्रपति पौडेललाई बधाई एवं शुभकामना दिएको हो ।

राष्ट्रपतिसँगको भेटका क्रममा चेम्बर अध्यक्ष मल्लले आर्थिक विकास र समृद्धिका लागि राष्ट्रपतिबाट पथप्रर्दशन हुनेमा आफूहरू विश्वस्त रहेको बताए । 

‘बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गती लिन सकेको छैन । पछिल्लो समय उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी एवं सर्वसाधरण ऋणीहरूमा गम्भीर असर गरेको छ,’ उनले भने ।  

पुँजीगत खर्च हुन नसक्ने समस्या लगायतले आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन नसकेको अध्यक्ष मल्लले बताए ।

राष्ट्रपतिसमक्ष अध्यक्ष मल्ललले बाँझो जमिन सदुपयोग गरी कृषि उत्पादनमा आधुनिकीकरण, यान्त्रीकरण एवं वैज्ञानिकीकरण गरी देशलाई आत्मनिर्भर बनाउन सकिने सुझाव दिए ।  

chember-team-with-president-1_5fUf81E3RU1679565760.jpg

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १५:४५
प्रतिक्रिया दिनुहोस्