पाकिस्तानमा प्रतिद्वन्द्वी समूहको आक्रमणमा पिटिआईका नेतासहित १० जनाको मृत्यु

बिहीबार, चैत ९, २०७९

इस्लामावाद– पाकिस्तानको हवेलियनको लाङ्ग्रा गाउँमा प्रतिद्वन्द्वी समूहले पाकिस्तान तेहरिक–ए इन्साफ (पिटिआई) लक्षित आक्रमणमा एकजना स्थानीय नेतासहित १० जना मारिएका छन् । 

कारमा यात्रा गरिरहेका बेला भएको आक्रमणमा पिटिआई नेता आतिफ मुन्सिफ खानसहित १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । द्रुत गतिमा रहेको कारमा गोली प्रहार हुँदा इन्धन ट्याङ्कीमा लागेको र तत्काल कारमा आगो सल्किएको सामाजिक सञ्जालमा ‘पोष्ट’ गरिएका भिडियोमा देखिन्छ । कार पूर्णरूमा जलेको छ । 

दुई घाइतेलाई उद्धार गरी अस्पताल पुर्याइएको छ । नेता खानको शव परीक्षणका लागि एबोटाबाद जिल्ला सदरमुकाम अस्पतालमा राखिएको छ । 

आक्रमणमा मारिएका खानले एबोटाबादको हवेलियन तहसीलबाट स्वतन्त्र उम्मेद्वारको रूपमा सन् २०२२ मा खैबर पख्तुनख्वा स्थानीय निकायको चुनाव जितेका थिए  । केही समयपछि उनी पिटिआईमा आबद्ध भएका हुन् । उनका बुबा मुन्सिफ खान जादुन केपी विधानसभाका पूर्वसदस्य र प्रान्तीय मन्त्री भएका थिए ।  उनको पनि सन् १९९० को दशकमा हत्या भएको थियो ।

यसैबीच, पाकिस्तानको सैन्य सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आइएसपिआर)का ब्रिगेडियर मुस्तफा कमाल बर्की दक्षिण वजिरिस्तानमा आतङ्कवादीसँग भएको भिडन्तमा मारिएको दैनिक अखबार डनले जनाएको छ ।

झडपमा सातजना सैनिक घाइते भएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  ०५:५९
प्रतिक्रिया दिनुहोस्