वैदेशिक व्यापारका ६ सुचकांकको ऋणात्मक बृद्धिदर

बुधबार, चैत ८, २०७९

काठमाडौँ– वैदेशिक व्यापारको अधिकांश सुचकको ऋणात्मक बृद्धिदर देखिएको छ । चालु आर्थिक वर्षको फागुनसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत फागुन मसान्त (चालु आर्थिक वर्षको ८ महिना) सम्ममा नेपालको आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशतले घटेर आयात १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँमा सिमित भएको हो ।

यस्तै, निर्यात पनि घटेको छ । गत आर्थिक वर्षको तुलनामा निर्यात २९ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको ८ महिनामा १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँ बराबरको निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा जम्मा १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको हो ।

वैदेशिक व्यापार कम हुँदा नेपालको व्यापार घाटा पनि कम भएको छ । गत आर्थिक वर्षको ८ महिनामा ११ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबरको व्यापार घाटा रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा भने ९ खर्ब ५३ अर्ब ५८ करोढ रुपैयाँ बराबरको मात्रै व्यापार घाट भएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ८ महिनामा व्यापार घाटा १७.८६ प्रतिशतले कम भएको हो ।

नेपालको कुल वैदेशिक व्यापार २०.१४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको ८ महिनामा १४ खर्ब ५६ अर्ब ४८ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ६३ अर्ब १८ करोड रुपैयाँ बराबरको मात्रै वैदेशिक व्यापार भएको भन्सार विभागले जानकारी दिएको छ । 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १७:३५
प्रतिक्रिया दिनुहोस्