नेभिगेशन
अर्थ विविध

वैदेशिक रोजगारमा रहेका व्यक्तिका लागि सामाजिक सुरक्षा योजना सुरु

काठमाडौं– वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकहरूलाई लक्षित गरी सामाजिक सुरक्षा योजना सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ योजनाको बुधबार सुरुवात गरेका हुन् ।

इजरायलमा रहेकी मञ्जु थपलियाको इनरोल रजिस्ट्रर गरिएको छ। प्रधानमन्त्री प्रचण्डले थपलियाका श्रीमान् पत्रकार गोपाल सङ्ग्रौलालाई कोषमा आबद्ध भएको परिचयपत्र हस्तान्तरण गरि योजनाको सुरुवात गरे ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा यो योजना सुरु गरिएको हो ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा यो कार्य शुभारम्भ गरिएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए ।
सामाजिक सुरक्षा कोषका निर्देशक डा. रोशन कोजुका अनुसार श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृती नवीकरण गर्ने बेला र नवीकरण गर्ने बेला नभएकाहरू पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत् सहभागी बन्न सक्छन् ।
त्यसका लागि हरेक महिना २ हजार २ रुपैयाँ बुझाउनुपर्छ । यो रकम एकमुष्ट पनि बुझाउन सकिन्छ । ७ महिनाभन्दा बढीको रकम जम्मा गरेमा १० प्रतिशत छुट पाइने छ । खल्ती, ईसेवा र कनेक्ट आईपीएसमार्फत पनि रकम जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।
ह्वाट्सय एप र भाइबर ग्रुपमा जोडिएर सूचना लिन वा जिज्ञासा राख्न सकिन्छ । त्यसका लागि कल सेन्टर स्थापना गरिएको छ र यो २४ सै घण्टा सन्चालन गर्ने व्यवस्था मिलाइएको पनि डा. जोशीले जानकारी दिए ।
यस योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक लाभान्वित हुने सरकारले जनाएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुल आचार्यले यस योजनाका लागि आफूहरूले पहल गर्दै आएको र अहिले पूरा भएको बताए ।
वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको छातामुनि ल्याउन कोषले यसअघि नै अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नेसम्बन्धी कार्यविधि स्वीकृत गरिसकेको छ । उक्त कार्यविधिले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका लाखौं श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने बाटो खोलेको थियो ।
कोषमा हालसम्म औपचारिक क्षेत्रका ३ लाख ९९ हजार ५६६ श्रमिक आबद्ध भइसकेका छन् । कोषमा ३० अर्ब ८७ करोड रुपैयाँ योगदान रकम सङ्कलन भएको छ । कोषले योगदानकर्तालाई ३ अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । ११ मङ्सिर २०७५ सालदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ५ वर्षे रणनीतिक योजना पनि सार्वजनिक गरे । त्यसमा मन्त्रालयले कसरी काम गर्ने र कसरी परिणाम निकाल्ने भन्ने मार्गचित्र छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध