Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोखरा विमानस्थलः आम्दानीले ऋणको ब्याज तिर्नै मुस्किल

विज्ञ भन्छन्– यो मोडलमै अन्य आयोजना बनाउन विदेशीलाई दिए श्रीलंकाको हालतमा पुग्छौं
बुधबार, चैत ८, २०७९

काठमाडौँ– निकै तामझामका साथ २०२३ जनवरी १ गतेदेखि पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले करिब ३ महिनाअघि उद्घाटन गरेको उक्त विमानस्थल यतिबेला भने सुस्ताउँदै गएको छ ।

विमानस्थल सञ्चालनमा ल्याइए पनि अहिलेसम्म हवाई कम्पनीले अन्र्तराष्ट्रिय उडान गर्न सकेको छैनन् । सोही विमानस्थलबाट बुद्ध एयरले पहिलो अन्र्तराष्ट्रिय उडान भारतमा गर्ने भने पनि अहिलेसम्म अनुमति पाउन सकेको छैन । अन्र्तराष्ट्रिय उडान हुन नसक्दा विमानस्थलको आन्तरिक आय नै खुम्चिन सक्ने विज्ञहरु बताउँछन् । अहिले विभिन्न हवाई कम्पनीले मात्रै आन्तरिक उडान मात्र गरिरहेका छन् ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अहिले दैनिक २५ देखि ३० वटा उडान हुँदै आएको छ । खासगरी, बुद्ध एयरले दैनिक १६ वटा, सौर्य एयर २ वटा, सिम्रिकले २  वटा र यति एयरलाइन्सले ६ वटा उडान भर्दै आएका छन् । अन्र्तराष्ट्रिय उडानका लागि विभिन्न हवाइ कम्पनीले सोधपुछ र जानकारी लिए पनि हालसम्म हवाई अनुमति पाइनसकेको पोखरा अन्र्तराष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका प्रवक्ता जशोदा सुवेदीले जानकारी दिइन् ।

pokhara1678451286.jpg

उनका अनुसार वार्षिक ३० करोड रुपैयाँ विमानस्थलले आन्तरिक आयबापत उठाउने लक्ष्य थियो । राष्ट्रिय, क्षेत्रीय र अन्र्तराष्ट्रिय उडान समेत ‘ठिकठाक’ चलेमा आयबापत उक्त रकम आम्दानी हुने प्रक्षेपण थियो । तर, अहिले अन्र्तराष्ट्रिय उडान भएका छैनन् । भएका आन्तरिक उडानको सेड्यूल पनि अवरुद्ध भइरहन्छ । यसले पनि समग्र पोखरा विमानस्थलको अनुमानित आम्दानीमा असर देखिने अवस्था सिर्जना भएको छ ।

आयोजना निर्माणमा चिनीयाँ एक्जिम बैंकले २२ अर्ब ऋण सहयोग गरेको छ । यो ऋणको व्याजदर २ प्रतिशत छ र २० वर्षमा ऋण तिरिसक्नु पर्नेछ । उक्त कुल ऋणको २५ प्रतिशत अर्थात ५ अर्ब ५० करोडको ब्याज लाग्दैन । बाँकी १६ अर्ब ५० करोड रुपैयाँ नेपालले वार्षिक २ प्रतिशतका दरले एक्जिम बैंकलाई ब्याज तिर्नुपर्छ ।

यस अर्थमा नेपालले चिनीयाँ एक्जिम बैंकलाई वार्षिक ३३ करोड ब्याज मात्र तिर्नुपर्छ । लक्ष्य अनुसार आम्दानी गरेपनि पोखरा विमानस्थलले कमाएको रकमले यो किस्ता तिर्न पुग्ने देखिदैन । वार्षिक ३० करोड रुपैयाँ आय हुने प्रक्षेपण मात्रै गरिएको छ ।

तर, ऋणको तिर्नुपर्ने ब्याज नै सरकारले आन्तरिक रुपमा उठाउने आम्दानीको प्रक्षेण गरेभन्दा बढी छ । अपुग ३ करोड रुपैयाँ आयोजनाले कहाँबाट उठाएर ब्याज तिर्ने हो, कुनै टुंगो छैन । पोखरा विमानस्थलले आफ्नो आन्तरिक आम्दानीले मात्र ऋण र ब्याज तिर्न सक्ने स्थिति देखिँदैन ।

२० वर्षमा ब्याजसहित साढे २८ अर्ब ऋण

नेपाल र चीन सरकारबीच भएको सहमति अनुसार ऋण सम्झौता भएको ७ वर्षपछि मात्र ब्याज तिनुपर्ने व्यवस्था छ । त्यसअनुसार, आयोजनाले आउँदो एक वर्षपछि अर्थात आर्थिक वर्ष २०८१/०८२ बाट ब्याज तिनुपर्ने हुन्छ । २० वर्षमा नेपालले एक्जिम बैंकलाई  ऋणबापतको ब्याज मात्र ६ अर्ब ६० करोड रुपैयाँ तिर्नुपर्छ । र, त्यसमा साँवा २२ अर्ब जोड्दा नेपालले २८ अर्ब ६० करोड तिर्नुपर्छ ।

जुन रकम भुक्तानी गर्न विमानस्थलको आन्तरिक आयले भ्याउने स्थिति देखिँदैन । अन्र्तराष्ट्रिय उडानको अनिश्चितता कहिलेसम्म कायम रहने हो ? घरेलु उडानको संख्या वृद्धि हुने÷नहुने र पर्यटन क्षेत्र कत्तिको चलायमान हुन सक्छ, त्यस आधारमा आर्थिक स्रोत जुटाउन नसकेमा चिनीयाँ ऋण ‘पासो’ बन्ने सम्भावना पनि उत्तिकै छ ।

राष्ट्रिय गौरवका आयोजनाका रुपमा सरकारले चीन सरकारबाट लिएको ऋण सहायता कसरी तिर्ने भनेर सोचेको छैन । अर्थात, आन्तरिक आयस्रोतबाट ऋण र ब्याज तिर्न नसके कसरी उक्त ऋण तिर्ने भनेर सरकारले सोचिरहेको छैन ।

हाइड्रोपावर बनाएर भाडामा बिजुली बेचेजस्तो हुँदैनः डा. आचार्य

पोखरा विमानस्थलमा उडान रुटको समस्या नभएर र अन्य सबै कुरा ‘ठिकठाक’ सञ्चालन भएको भए पनि केही वर्षसम्म आयोजनाको लगानी उठ्न नसक्ने बताउँछन, पूर्वाधारविज्ञ डा. सूर्यराज आचार्य । उनी आन्तरिक आयले मात्र त्यसमा लागेको लगानी नउठ्ने बताउँछन् ।

जलविद्युत् आयोजना बनाएर भाडामा बिजुली बेचेजस्तो फाइदा विमानस्थलबाट नहुने उनको भनाइ छ ।

‘हाइड्रोपावर बनाएर भाडामा बिजुली बेचे जस्तो बिमानस्थलबाट हुँदैन एयरपोर्टमा रुट इत्यादिको समस्या नभएर ठिकठाक चलेको भए पनि केही वर्षसम्म लगानी उठ्दैनथ्यो,’ उनले भने ।

सम्पूर्ण कुरा अध्ययन नगरीकन राजनीतिक दबाबमा उक्त परियोजना अघि बढाइएको उनको भनाइ छ । पूर्वाधार आयोजनामा ल्याएको ऋण कसरी लागत सस्तो बनाउन सकिन्छ भनेर सरकारले नसोची ठेकेदार, कामदार र निर्माण सामग्री चीनबाटै ल्याएर बनाउँदा आयोजना अत्यन्त महंगो भएको उनको विश्लेषण छ ।

वित्तीय अनुशासन बाहिर गयोः डा. पोखरेल

पोखरा विमानस्थलको निर्माण लागत अत्यन्त महंगो परेको विज्ञहरु बताउँछन् । विदेशी ऋण लिएर विदेशीलाइै ठेक्का सुम्पिदा अन्र्तराष्ट्रिय ठेक्का हुन पाएन । चीन सरकारले जसलाई ठेक्का दियो, उसैले पूँजी, कामदार, निर्माण सामग्रीलगायत जुटाएर आयोजना बनायो । वित्तीय अनुशासनभन्दा बाहिर जाँदा पोखरा विमानस्थल महंगो बनेको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल बताउँछन् ।

‘परियोजना वित्तीय अनुशासन बाहिर गयो, यसले आयोजना अत्यन्त महंगो पर्यो चाहिनेभन्दा बढी पैसा लिइयो र हामीले अन्र्तराष्ट्रिय ठेक्का गराउन नपाएकोले चिनीयाँ कम्पनीले जसलाई भन्यो उसलाइ नै ठेक्का दिनुपर्यो,’ डा. पोखरेलले भने ।

जति वर्षमा ऋण चुक्ता गर्ने भनिएको छ, त्यस अवधिसम्म ऋण र ब्याज तिर्न गाह्रो हुने उनको भनाइ छ । 

‘यहि प्रोजेक्टलाई हेर्ने हो भने हामीलाई ऋण तिर्न गाह्रो हुन्छ । एयरपोर्टले त्यति  आम्दानी नै गर्न सक्दैन । जे कुरा प्रक्षेपण गरिएको थियो, ती कुराहरु नै अघि बढिरहेका छैनन । जति वर्षमा ‘पे ब्याक’ गर्ने भनेका थियौं, त्यो अवधिमा सकिँदैन,’ उनले भने ।

पोखरा विमानस्थल जस्ता अन्य पूर्वाधार पनि यो मोडलमै विदेशीलाई बनाउन दिने हो भने नेपाल श्रीलंकाको अवस्थामा पुग्ने उनी बताउँछन् ।

‘पोखरा विमानस्थल जस्तै अन्य पूर्वाधार आयोजना राजनीतिक रुपबाट ‘प्रोजेक्ट डिसाइड’ गरेर अघि बढाउन खोजियो र लागत कसरी कम गर्न सकिन्छ भन्ने हिसावले सोचिएन भने नेपाल वैदेशिक ऋणको चंगुलमा फस्छ र श्रीलंकाको हालतमा पुग्न कसैले रोक्न सक्दैन,’ डा. पोखरेलले भने ।

बिमानस्थल पूर्ण सञ्चालनमा नआउँदासम्म केही प्रतिशत ऋणलाई अनुदानमा परिणत गर्न चीनलाई निवेदन गर्नुपर्ने उनको सुझाव छ ।

‘लिएको ऋणमध्ये केही प्रतिशत अनुदानमा परिणत गर भन्नु पर्यो । ताकि श्रीलंकाको पोर्ट जस्तै चीन सरकारलाई नै विमानस्थल चलाउन लिँजमा दिने स्थिति नआओेस् । ‘फुलफेज’मा सञ्चालनमा नआउँदासम्म जुन ‘ग्याप’ हुन्छ, त्यसको निश्चित प्रतिशत अनुदानमा परिणत गरिदिन भन्न पर्यो,’ डा. पोखरेलले भने ।

पोखरा विमानस्थल यसप्रकारले हचुँवाका भरमा बनाउन दिन नहुने उनको तर्क छ ।

नेपाल र चीन सरकारबीच सन् २०१७ मार्चमा ऋण सम्झौता भएको थियो । सम्झौता बमोजिम ४ वर्षमा विमानस्थल सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको थियो । त्यसअनुसार, आयोजना सन् २०२१ भित्र आयोजना सम्पन्न हुनुपर्ने थियो । तर, कोरोना महामारी लगायतका कारणले आयोजनामा डेढ वर्ष ढिला गरी सम्पन्न भएपनि संचालनमा भने समस्या देखिएको छ ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्