जितपुर–सिमरा गोल्डकपको तयारी पूरा

मंगलबार, चैत ७, २०७९

सिमरा– नवजागृति युवा क्लब सिमराद्वारा यही चैत ९ गतेदेखि सञ्चालन हुने जगदम्बा १३ औँ जितपुर सिमरा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ ।

सिमरा रङ्गशालामा यही २०७९ चैत १८ गतेसम्म हुने गोल्डकप प्रतियोगितामा प्रथम हुने टिमलाई १० लाख रुपैयाँ, द्वितीय हुनेलाई पाँच लाख रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल/स्कुटी पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।

गोल्डकपको मुख्य प्रायोजक जगदम्बा स्टिल सिमरा पावर्ड बाई जगदम्बा मोटर्स तथा मुख्य सहयोगी जितपुर सिमरा उपमहानगरपालिका रहेका छन् । 

प्रतियोगितामा विधागत पुरस्कार २० हजार रुपैयाँ, म्यान अफ द म्याच १० हजार रुपैयाँ र स्थानीय उदीयमान खेलाडी पुरस्कार १५ हजार रुपैयाँ प्रदान गरिने भएको छ ।

फुटबल प्रतियोगितामा गत वर्षको विजेता एनआरटी, गत वर्षको उपविजेता एपिएफ, हिमालयन शेर्पा क्लब, ब्वाइज युनाइटेड, सातदोबाटो युथ कल्ब, केबिए ग्लोबल, बिएएफसी चितवन, मकवानपुर–११ हेटौँडा, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाइटेड र आयोजक क्लबसमेत गरी १० वटा टिमले भाग लिने छन् । 

प्रतियोगिता सञ्चालन गर्न रु एक करोड छ लाख ७७ हजार लाग्ने आयोजकले बताएको छ ।

jitpur_simara_goldcup_2023_talika1679405588.jpg

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १९:१२
प्रतिक्रिया दिनुहोस्