नागढुंगा–मुग्लिन सडक विस्तारले गति लियो, सकिएला त ३ वर्षमा ?

मंगलबार, चैत ७, २०७९

काठमाडौँ– नागढुंगा–मुग्लिन सडक विस्तारको कामले गति लिन थालेको छ । गत २०७९ असारदेखि ठेक्का लागेर विस्तारको काम सुरु गरिएको सो सडकको पूर्वी खण्डको काम धमाधम अघि बढेको आयोजनाले जनाएको छ ।

पूर्वी खण्डअन्तर्गत दुईवटा प्याकेज नागढुंगा–नौबिसे र नौबिसे–मलेखु खण्डमा सडक विस्तारको काम धमाधम अघि बढेको हो ।

अहिलेको कामको गति हेर्दा तोकिएको समयभित्र नै पूर्वी खण्डको सडक विस्तारको काम सम्पन्न गर्ने देखिएको आयोजना प्रमुख ईश्वरबहादुर रिजालले बताए । दुई प्याकेजमा नागढुंगादेखि मलेखुसम्म सडक विस्तारको काम ५ महिनाअघि सुरु भएको उनले जानकारी दिए ।

‘दुईवटै खण्डमा सडक विस्तारको काम सुरु भइसकेको छ । अहिलेको काम भनेको सडक चक्ल्याउने, रिटेनिङ वाल र पर्खाल निर्माण लगायतका काम भइरहेका छन्,’ उनले भने, ‘सँगसँगै नयाँ पुल निर्माण र भइरहेका पुलको मर्मतसम्भार भइरहेको छ ।’ 

सो सडकको पश्चिम खण्डको विस्तारका लागि सर्भे, पूर्व तयारीका काम र संरचना निर्माणलगायतको काम भइरहेको छ । करिब ५ किलोमिटर सडक विस्तारका लागि सर्भे डिजाइन स्वीकृत भएर काम अघि बढेको पश्चिम खण्डका आयोजना प्रमुख किरण कार्कीले बताए । 

पश्चिम खण्डको सडक विस्तार ३ वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ गत २०७९ पुस १५ मा ठेक्का लगाइएको थियो । पश्चिम खण्डअन्र्तगत मलेखुदेखि मुग्लिनसम्मको सडक खण्ड विस्तारको काम छिट्टै सुरु गर्ने तयारी रहेको कार्कीले बताए । 

निर्माण व्यवसायी र आयोजनाबीच जोइन्ट सर्भे डिजाइन जाँच र समीक्षा गर्ने काम पनि अन्तिम चरणमा पुगेको उनले बताए । सडक विस्तारका लागि प्वाइन्ट राख्ने, इन्जिनियरिङ, पोल सार्ने र रुख हटाउने काम पनि सँगसँगै अघि बढेको उनले बताए । 

साना खोल्सा र खोलामा पुराना भएका पुलको मर्मत गरेर सँगै दुई लेनको नयाँ पुल बनाइनेछ । आग्रा, बेल्खु र मलेखुका ठूला पुराना पुलबाहेक अन्य ठाउँको पुलको मर्मत सँगै नयाँ पुल बन्नेछ । पहिलो प्याकेजअन्तर्गत खत्रीपौवा र नौविसेमा दुईवटा पुल बन्नेछन् । नौबिसेदेखि मलेखु खण्डमा साना–ठूला गरेर १३ वटा पुल बन्नेछन्  । 

उक्त सडक खण्डमा पर्ने बजार क्षेत्र र बस्ती भएको क्षेत्रमा सडक चार लेनमा र अन्य अप्ठ्यारा ठाउँहरूमा सजिलै दुईवटा सवारी यातायात आवागमन गर्न सकिने बनाइनेछ । नागढुंगादेखि नौबिसे खण्डको विस्तार २ वर्षमा  र अन्य दुई प्याकेजको काम ३ वर्षमा निर्माण सक्ने लक्ष्य छ । विश्व बैंकको ऋण लगानीमा उक्त सडक विस्तारको काम अघि बढाइएको हो ।

आयोजनाको तीनवटा प्याकेज काम गरेर करिब साढे ११ अर्ब लागत लाग्ने अनुमान छ । पहिलो प्याकेजअन्र्तगत नागढुंगा–नौबिसे खण्ड १२ किलोमिटरका लागि १ अर्ब ३३ करोड, दोस्रो प्याकेजअन्र्तगत नौबिसे–मलेखुखण्ड ४३ किमीका लागि ५ अर्ब ३३ करोड र तेस्रो प्याकेजअन्तर्गत मलेखु–नौबिसे ३९ किमीका लागि ४ अर्ब ८० करोड रुपैयाँमा ठेक्का लागेको थियो ।

सो सडक विस्तारमा विश्व बैंकको १९ अर्ब ऋण सहयोगसँगै नेपाल सरकारले समेत बजेट खर्च गर्ने छ ।

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १०:२३
प्रतिक्रिया दिनुहोस्