सामाजिक सुरक्षा कोषद्वारा पौने ४ अर्ब रूपैयाँ दाबी भुक्तानी

शनिबार, चैत ४, २०७९

काठमाडौं– योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको सामाजिक सुरक्षा कोषले हालसम्म पौने ४ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको छ । हालसम्म कोषले विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई ३ अर्ब ७८ करोड रुपैयाँ भुक्तानी गरेको हो ।

कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ । कोषले २०७६ देखि विभिन्न योजनाको दाबी भुक्तानी गर्दै आएको छ ।

कोषले औषधोपचार सुविधाबापत ४४ करोड ५९ लाख ९६ हजार, दुर्घटना तथा अशक्तता सुरक्षा सुविधाबापत ५ करोड ४५ लाख १७ हजार, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत ६ करोड ४६ लाख ६३ हजार र वृद्धावस्था सुरक्षा योजनाबापत  ३ अर्ब २१ करोड ६५ लाख ७१ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । कोषले ६८ हजार ३६ योगदानकर्तालाई १ लाख ६ हजार ४५८ पटक विभिन्न शीर्षकमा दाबी भुक्तानी गरेको छ ।

कोषमा हालसम्म ३ लाख ९९ हजार १९२ श्रमिक सूचीकृत भएका छन् । सबैभन्दा बढी वाग्मती प्रदेशबाट ३ लाख ७० हजार २९, कोसीबाट ३८ हजार ८६८, मधेसबाट २१ हजार २४१, गण्डकीबाट १५ हजार २१७, लुम्बिनीबाट १४ हजार ८६, सुदूरपश्चिमबाट १ हजार ५२६ र कर्णालीबाट १ हजार २२५ श्रमिक कोषमा आबद्ध भएका छन् ।

कोषमा १७ हजार ७३४ रोजगारदाता सूचीकृत छन् । हालसम्म ३० अर्ब ७९ करोड रुपैयाँ योगदान रकम सङ्कलन भइसकेको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १४:५७
प्रतिक्रिया दिनुहोस्