स्याउका बिरुवामा किरा लागेपछि जुम्लाका किसान चिन्तित

शुक्रबार, चैत ३, २०७९

जुम्ला–स्याउका बिरुवामा किरा लाग्दा किसान चिन्तित बनेका छन् । मुख्य आम्दानीको स्रोत नै स्याउ भएकाले किसान उत्पादन कम हुने चिन्तामा परेका हुन् ।

तिला गाउँपालिका–२ दलबहादुर रावतले रोग किराबाट स्याउका बिरुवा कसरी जोगाउने भन्ने चिन्ताले पिरोलिरहेको जानकारी दिए । ‘स्याउ बगैँचामा बिरुवा रोप्न जति सजिलो छ’, उनले भने, ‘त्यसभन्दा बढी बिरुवा हुर्काएर स्याउ फलाउन कठिन छ ।’ 

बगैँचामा गत वर्ष भुवादार लाइकीरा र कत्ले किराको प्रकोप देखिएको थियो । तर समयमै पत्ता लागेकाले विषादी प्रयोग गरी त्यसलाई निर्मूल पारेको उनले बताए ।

‘वर्षैपिच्छे कुनै न कुनै रोग किराको सङ्क्रमण भइरहेको हुन्छ’, उनले भने, ‘त्यसैले वर्षभरि नै रेखदेख गरिराख्नुपर्छ ।’ 

जिल्लाका अधिकांश स्याउ बगैँंचाका बोटमा समस्या देखापरेको यहाँका स्थानीय तहका कृषि शाखाले जनाएका छन् । जुम्ली स्याउमा बर्सेनि रोग किराको सङ्क्रमण देखिँदा उत्पादनमा ह्रास आएको तातोपानी गाउँपालिकाका पूर्णप्रसाद चौलागााईँले जानकारी दिए । 

बागवानी अनुसन्धान केन्द्र जुम्लाका अनुसार स्याउको बिरुवा रोप्नु पहिले भाले र माउ जातको स्याउको बिरुवा स्पष्टरूपमा छुट्याउनुपर्ने जनाएको छ ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार हरेक वर्ष रोग किराका कारण करिब ४० प्रतिशत स्याउका बिरुवा नष्ट हुने गरेको कार्यालय प्रमुख गणेश अधिकारीले जानकारी दिए । 

जिल्लाभरि ४ हजार २५० हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १८:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार