जापानका युट्युबर सांसद निष्काशित

बिहीबार, चैत २, २०७९

टोकियो– जापानमा युट्युबरका रूपमा प्रख्यात भएपछि सांसद बनेका एक नेतालाई निष्काशन गरिएको छ । सांसद निर्वाचित भएपछि एक दिन पनि सदनमा उपस्थिति नभएका उनलाई मङ्गबार संसद्बाटै निष्काशन गरिएको हो । 

गत जुलाईमा निर्वाचित योशिकाजु हिगाशितानी अनिवार्यरूपमा उपस्थित हुनुपर्ने संसदीय बैठक एवम् अधिवेशनमा एकपटक पनि उपस्थित नभएपछि निजलाई जापानको माथिल्लो सदनले मङ्गलबार निष्काशन गरेको हो । सदनको हिजोको उक्त निर्णय आजदेखि लागू भएको छ । 

गासी उपनामले चिनिने योशिकाजु ७० वर्षपछि जापानको संसद्बाट निष्काशित हुने पहिलो सांसद भएका छन् । यसअघि सदनले उनलाई महिनौँ लामो अनुपस्थितिका लागि क्षमा याचना गर्न आदेश दिएको थियो तर उनले त्यसको वेवास्ता गरेका थिए । ५१ वर्षीय उनको दलबाट दुई जना सांसद निर्वाचित छन् । उनी निष्काशित भए पनि अर्को एक सदस्यले उनको स्थानमा काम गर्नेछन् । 

दुबईमा बसोबास गरिरहेका पूर्वव्यापारी उनले जापान फर्केमा पक्राउ पर्ने बताएका छन् । मानहानीको आरोपमा उनलाई सम्बद्ध अधिकारीले सोधपुछ गर्न पक्राउ गर्नसक्ने उनले बताएका छन् । जापानको सार्वजनिक प्रसारण संस्थामा परिवर्तनको अभियान चलाएको उनको दल एनएचके पार्टीका रूपमा परिचिति थियो । 
 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ०५:३१
प्रतिक्रिया दिनुहोस्