नेभिगेशन
समाज विविध

फागुनमै सुक्न थाले खानेपानीका मुहान

महोत्तरी– यस वर्ष फागुन नसकिँदै खानेपानीका मुहान सुक्न थालेका छन् ।

सामान्यतया वैशाख/जेठमा खानेपानीको मुहान सुक्ने गरेकामा यस वर्ष खडेरीले फागुन नसकिँदै मुहान सुक्न थालेका हुन् ।

महोत्तरीको उत्तरी भेगमा पर्ने बर्दिबास, भंगाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानीको मुहान सुक्दै गएका छन् । पानीका स्रोत सुक्दै गएपछि यसपाली खानेपानीको हाहाकार हुने भन्दै स्थानीयबासी चिन्तित भएका छन् ।

‘धाराबाट पानी झर्नै छाड्यो,’ बर्दिबास–२ की गायत्री उपाध्यायले भनिन्, ‘गत वर्ष यो बेला यस्तो भोग्नुपरेको थिएन, पानीका लागि अहिले त दिनभर कुरेर बस्नुपर्ने भएको छ ।’ 

बर्दिबास नगरपालिकाका धेरैजसो बस्तीमा नदी, खोल्सी र जरुवाको पानी संकलन गरिएको पानी सर्वसाधारणलाई वितरण गरिँदै आएको छ । यस वर्ष हिउँदे वर्षा नहुँदा नदी, खोल्सी र जरुवाका मुहान चाँडै सुक्दा पानीको समस्या भएको स्थानीय बताउँछन् । 

‘पानीको स्रोत सुक्दै गएकाले धारामा पानी घटेको हो,’ बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भुलनबहादुर सेनले भने, । संस्थाले बर्दिबास–१, २, ३ र १४ वडाका उपभोक्तालाई खानेपानीको व्यवस्था गर्दै आएको छ ।

बर्दिवासका चल्की विजलपुरा, भेडियारीटोल, मेघरोलसहितका बस्तीमा चापाकल तथा पशुपतिनगर, विजलपुरा, प्रेमनगर, किसाननगर र हाथीलेटका बस्तीमा इनार प्रयोग गरिँदै आएकामा केही समययता चापाकल सुक्दै गएका छन् । इनारमा पनि पानीको सतह गहिरिएको स्थानीयले बताए । 

भंगाहा र गौशालामा इनार र चापाकलको प्रयोग गरिन्छ । पानीका स्रोत सुक्दै गएका भंगाहा–४ प्रेमनगरका जवाहर महतोले बताए ।

‘अब वर्षा भए मात्र पानी पर्याप्त हुन्छ,’ उनले भने । वडा–४ र ५ का बस्तीमा बर्सेनि गर्मीयाममा खानेपानीको संकट हुँदै आएको छ । ‘पहिला १५ हात इनार खनेपछि पानीको मूल भेटिन्थ्यो,’ स्थानीय ६० वर्षीय हरिदेव साहले भने ।

चुरे पहाडी काछका बस्तीमा पनि खानेपानीको समस्या भएको छ । जरुवा पानीका मुहान सुक्दै गएपछि समस्या भएको हो । बर्दिवास–३, ४, ५, १० र ११ वडा यस क्षेत्रमा पर्छन् । 

‘एक दशक अघिसम्म यहाँका जरुवा कहिल्यै सुक्दैनथे, पछिल्ला केही वर्षयता नदी, पाखा र बगर पर्ती जग्गामा बालुवा, ढुंगा झिक्न ठुल्ठुला उपकरण प्रयोग हुन थालेपछि मुहान सुक्दै गएका हुन्,’ बर्दिवास–१० खयरमाराका ६० वर्षीय प्रेमध्वज लामाले भने ।

पानीका मुहान सुक्दै जानुको कारण वन विनाश र अवैध उत्खनन् नियन्त्रण हुन नसक्नु पनि भएको उनको भनाइ छ । 

खानेपानीको स्रोत इनारमात्र भएको बर्दिवास–८ को हाथीलेटको विजय बस्तीमा पनि पानी सुक्दै गएको छ । गौशाला नगरपालिकाको बेलगाछी, भरतपुर, लक्ष्मीनियाँ र रामनगर तथा भंगाहा नगरपालिकाको प्रेमनगर, भूचक्रपुर, धतियाटोल, रामनगरसहितका बस्तीमा इनार र चापाकल सुक्न थालेपछि फागुन नसकिँदै खानेपानीको संकट भएको छ ।

बर्दिवास, गौशाला र भंगाहा नगरपालिकाका बस्तीमा ५ वर्षयता इनार सुक्ने क्रम बढ्दै गएको छ । यसअघि लामो खडेरी पर्दा मात्र इनार सुकेका थिए ।

गाईबस्तुलाई पानी खुवाउन समस्या भएको स्थानीयको भनाइ छ । पानी अभावले बालीनालीसमेत सुक्न थालेको भंगाहा–४ रामनगरका नारायण दाहालले बताए । 

चुरे क्षेत्रका खोल्साखोल्सी, वन क्षेत्र, नदी, सिमसार क्षेत्र र पोखरी (तलाउ) पानीका मुख्य स्रोत भएकाले यिनको संरक्षण एवं उपयोग नीति नबनेसम्म पानीको संकट नटुंगिने भंगाहा–७ का वन, वातावरण र चुरे विज्ञ डा विजयकुमार सिंहले बताए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध

६ महिनापछि घर फर्किए टिंकरवासी

हुलाकी सडकले फेरेको नरैनापुर