मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो

आइतबार, फागुन २८, २०७९

म्याग्दी– वसन्त ऋतुको आगमनसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । म्याग्दी हँुदै सडकमार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकको बेनी–जोमसोम सडकमा चाप बढेको हो । 

मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, जोमसोम, ढुम्वा ताल, ठिनी, लेतेलगायत ठाउँमा पर्यटकको घुइँचो लागेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को जोमसोमस्थित कार्यालय प्रमुख अशोक सुवेदीले आन्तरिक पर्यटकको चाप बढेको र विदेशी पर्यटक पनि मुस्ताङ घुम्न आउन थालेको जानकारी दिए । 

‘सडक र हवाई मार्ग भएर मुस्ताङ घुम्न आएका आन्तरिक पर्यटकका कारण चहलपहल बढेको छ,’ उनले भने, ‘थोराङ्ला, उपल्लो मुस्ताङ र जोमसोम आसपासका क्षेत्रमा पनि विदेशी पर्यटकको चहलपहल बढेको छ ।’

सन् २०२३ को मार्च महिनाभित्र ११ दिनको अवधिमा १ हजार ८४४ विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्पाप जोमसोम शाखाले जनाएको छ ।

अंग्रेजी वर्ष २०२३ सुरु भएयता ३ हजार ६६९ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । जनवरीमा १३१ र फेब्रुअरीमा १ हजार ६९९ पर्यटक आएका थिए ।

सन् २०२२ मा ४८ देशका ६५ हजार ९४० जनाले मुस्ताङ भ्रमण गरेकामा ४६ हजार ७२४ जना सार्क र १९ हजार २०६ जना तेस्रो मुलुकका थिए ।

सार्क राष्ट्रमध्ये धेरै पर्यटक भारतका हुन् । म्याग्दी भएर दैनिक ५० वटा बस र १५० जिप ९पर्यटक सवारीसाधन०बाट मुस्ताङ भित्रिने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अनुकूल मौसम, सडक यातायात र होटलको सहजतासँगै मुस्ताङमा पर्यटकको आगमन बढेको होटल व्यवसायी सम्झना थकालीले बताइन् । 

विदेशीको तुलनामा स्वदेशी पर्यटक बढी छन् । आमा समूह, वन समूह, क्लब, सहकारी संस्था र शैक्षिक संस्थाबाट पनि समूह बनाएर भ्रमणमा आएका छन् । 

चीनको सिमानास्थित कोरला नाकासम्म सडक पुगेको छ । यातायातको सहज पहुँचसँगै यात्राको खर्च घटेको र समय छोटिएको छ ।

मुस्ताङ जाने र फर्कने पर्यटकको चाप बढेपछि म्याग्दीका व्यवसायीलाई पनि राहत मिलेको होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका जिल्ला अध्यक्ष बाबुराम आचार्यले बताए । 

बेनी, गलेश्वर, भुरुङ तातोपानी, पोखरेबगर, दाना क्षेत्रका होटल पाहुनाले भरिन थालेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १२:२८
प्रतिक्रिया दिनुहोस्