नेभिगेशन
अर्थ विविध

‘नेचुरल कार्पेट’ अब अन्तर्राष्ट्रिय बजारमा

पोखरा-२५ जना महिलाले झन्डै ६ महिना लगाएर तयार पारेको ‘नेचुरल टेक्सटायल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनी गरिने भएको छ । 

ब्रिटिस काउन्सिलको सहयोगमा पोखरास्थित महिला सीप विकास संस्थाले तयार पारेको कार्पेट १६ मिटर लामो रहेको संस्थाका संस्थापक कार्यकारी निर्देशक रामकली खड्काले जानकारी दिइन् ।

उनका अनुसार सुती धागोबाट जडीबुटी र फलफूलको रस प्रयोग गरी ‘केमिकल’रहित कार्पेट तयार पारिएको हो । नेपाली उत्पादनलाई विश्वबजारमा चिनाउनका लागि कार्पेट तयार पारिएको उनले बताइन् ।

कार्पेटको बीच भागमा विभिन्न चित्र, नक्सा अङ्कित गरिएको छ । उनका अनुसार मोबाइल एपमार्फत् कार्पेट बनाउँदा प्रयोग भएका कच्चा पदार्थका साथै तयार पार्ने महिलाको कथा हेर्न सकिनेछ । १६ मिटर लामो कार्पेटसँगै डेढ मिटरका अन्य २४ वटा साना नेचुरल कार्पेट पनि तयार गरिएको छ । 

ब्रिटिश काउन्सिलले गरिबी निवारणका लागि एकल, द्वन्द्वपीडित, हिंसापीडित, अपाङ्गता भएका एवं पछाडि पारिएका महिलालाई आयआर्जनमा जोडेर सम्मानित जीवनयापनका लागि ल्याएको कार्यक्रममा संस्थाको सहकार्य रहेको खड्काको भनाइ छ । 

‘कार्पेट प्रदर्शनीका लागि मात्रै भएकाले मूल्य तोकेका छैनौँ’, उनले भनिन्, ‘विभिन्न देशमा यसलाई प्रदर्शन गर्ने हाम्रो योजना अनुसार बेलायतबाट यसको सुरुआत गर्नेछौँ ।’ 

उनका अनुसार प्रदर्शनीपछि यसलाई बेलायतकै विश्वविद्यालयमा राखिने छ । प्रदर्शनपछि माग आएमा नयाँ कार्पेट तयार गरी मूल्य निर्धारण गरिनेछ ।

पोखरा महानगरको सहयोगमा ८ मार्चमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा संस्थाबाट उत्पादिन सामग्री प्रदर्शनीसँगै कार्पेटलाई पनि प्रदर्शन गरिएको थियो । २०३२ सालमा स्थापना भएको महिला सीप विकास संस्थाले विशेष गरी आर्थिकरूपमा विपन्न, अपागङ्ता भएका, एकल र द्वन्द्वपीडित महिलालाई आयआर्जनमा जोडेर सम्मानित जीवनयापनाका लागि पहल गर्दै आएको संस्थाका अध्यक्ष देवी गुरुङले जानकारी दिइन् ।

‘स्वदेशी हस्तकला सामानको प्रयोग गराँै, स्वरोजगार सिर्जना गरौँ, वातावरण जोगाऔँ’ भन्ने नाराका साथ ४७ वर्षदेखि हस्तकलाका सामग्री उत्पादन तथा निर्यातमा सक्रिय संस्थाले झन्डै १ हजारभन्दा बढी सामग्री उत्पादन गर्दै आएको छ  

अध्यक्ष गुरुङका अनुसार हालसम्म करिब २१ हजार महिलालाई संस्थाले तालिम प्रदान गरिसकेको छ । हाल ३५० जना महिला उद्यमी संस्थामा आबद्ध छन् । 

संस्थाले झोला, पर्स, गुडिया र  सजावटका सामान उत्पादन गर्दछ । स्थानीय कच्चापदार्थ, अल्लो, मकैको खोस्टाबाट फूल, गुडियालगायतका अनेकौँ सामान उत्पादन गर्दछ । उत्पादनको ८० प्रतिशत विदेशी बजारमा निर्यात हुने गरेको छ भने बाँकी २० प्रतिशत आन्तरिक खपत हुने गरेको संस्थाको भनाइ छ । 

संस्थाले हस्तकला सामान निर्यातमार्फत् विदेशी मुद्रा आर्जन गर्न सफल भएको संस्थाकी कार्यकारी निर्देशक खड्काको भनाइ छ । संस्थाका उत्पादन खासगरी अमेरिका, जर्मनी, इटली, कोरिया, क्यानडा, अस्ट्रेलिया, जापानलगायत विभिन्न देशमा निर्यात हुने उनले जानकारी दिइन् ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध