नेपालले २० खर्ब ७० अर्ब ऋण तिर्न बाँकी

शनिबार, फागुन २७, २०७९

काठमाडौँ –चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख रुपैयाँ पुगेको छ । गत पुस मसान्तसम्म नेपालले ११ खर्ब २ अर्ब ५१ करोड बाह्य ऋण र ९ खर्ब ६८ अर्ब १ करोड रुपैयाँ आन्तरिक ऋण तिर्न बाँकी रहेको देखिएको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको दोस्रो त्रैमासिक अवधिको सार्वजनिक ऋण प्रतिवेदनअनुसार चालु आवको छ महिनाको अवधिमा ५७ अर्ब २४ करोड रुपैयाँ ऋण थपिएको छ । गत असार मसान्तसम्म कूल सार्वजनिक ऋण २० खर्ब १३ अर्ब रुपैयाँ थियो । जसमध्ये बाह्य ऋण १० खर्ब ५० अर्ब २३ करोड र आन्तरिक ऋण ९ खर्ब ५७ अर्ब ६१ करोड रुपैयाँ बराबर थियो । 

चालु आवको दोस्रो त्रैमासिक अवधिसम्ममा ७६ अर्ब ६६ करोड ९९ लाख रुपैयाँ बाह्य ऋण थपिएको छ । आन्तरिक ऋण भने गत असारको तुलनामा पुसमा  १९ अर्ब ४३ करोड रुपैयाँले घटेको छ ।

नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको अनुपात ४२ दशमलव ६७ प्रतिशत बराबर पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । अहिले कूल गार्हस्थ्य उत्पादन ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ बराबर छ । जिडिपी अनुपातमा आन्तरिक ऋण १९ दशमलव ९५ प्रतिशत र बाह्य ऋण २२ दशमलव ७२ प्रतिशत रहेको कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।

चालु आवको पुस मसान्तसम्म नेपालले ४७ अर्ब २७ करोड रुपैयाँ बराबर ऋण उठाएको छ । जसमध्ये ३० अर्ब आन्तरिक र १७ अर्ब २७ करोड रुपैयाँ बाह्य ऋण उठाएको हो । यही अवधिमा ४५ अर्ब ६१ करोड रुपैयाँ साँवा ब्याज भुक्तानी गरेको छ । पुस मसान्तसम्म सरकारले भुक्तानी गरेको साँवा २८ अर्ब ३० करोड  ब्याज १७ अर्ब ३१ करोड रुपैयाँ छ ।

यस अवधिमा आन्तरिक ऋणको साँवा १९ अर्ब ५९ करोड २५ लाख रुपैयाँ र ब्याज १५ अर्ब ६५ करोड ९६ लाख रुपैयाँ गरी कूल ३५ अर्ब २५ करोड रुपैयाँ भुक्तानी भएको छ भने बाह्य ऋणको साँवा ८ अर्ब ७१ करोड र ब्याज १ अर्ब ६५ करोड गरी १० अर्ब ३६ करोड रुपैयाँ भुक्तानी भएको छ । कूल साँवा ब्याज भुक्तानीमा आन्तरिक ऋणको साँवा ब्याज भुक्तानी ७७ दशमलव २८ प्रतिशत र बाह्य ऋणको साँवा ब्याज भुक्तानी २२ दशमलव ७२ प्रतिशत बराबर छ ।

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १५:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार