कृषि बाली पहिचानसहित बजारीकरण गरिने

शनिबार, फागुन २७, २०७९

कालीकोट-कालीकोटमा उत्पादन हुने अर्गानिक कृषि बालीलाई पहिचान दिइने भएको छ । 

जिल्ला कृषि विकास कार्यालय कालीकोटले उत्पादन हुने कालोमार्सी चामल, बेसार, स्याउलाई छुट्टै पहिचानसहित बजारीकरणमा सहयोग गर्ने भएको हो । पहिचानसहित बजारीकरण गर्दा सहज हुने कार्यालय प्रमुख बालकराम देवकोटाको भनाइ छ ।

‘कालीकोटमा उत्पादन हुने कृषि वस्तुको एकद्वार प्रणालीमा बिक्री वितरण नहुँदा पहिचानसमेत हुन सकेको छैन’, उनले भने, ‘यहाँ उत्पादन हुने कृषि उपजका वस्तु पहिचान दिएर बिक्री वितरण गर्ने व्यवस्था मिलाउँदै छौँ ।’

किसानले उत्पादन गरेका वस्तुको उत्पादनस्थलदेखि ३ किलोमिटरसम्मका लागि ढुवानीको व्यवस्था कार्यालयले गर्नेछ ।

‘ढुवानीसँगै उच्च मूल्यका कृषिजन्य वस्तु ठूला सहरमा बिक्री गर्ने व्यवस्था कार्यालयले मिलाउँछ’, उनले भने । ‘पुरानो रैथाने बाली चिनो, कागुनो र फापरको उत्पादन हुने क्षेत्र पहिचान गरिरहेका छौँ,’ उनले भने ।

कालीकोटमा उत्पादन हुने रैथाने तथा अर्गानिक कृषि बाली पहिचानबिना बिक्री हुँदा उत्पादन कहाँ भएको हो भन्नेबारे कुनै जानकारी पनि नहुने भएकाले पहिचानसहित बिक्री गर्न लागिइएको हो । 
 

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १५:०७
प्रतिक्रिया दिनुहोस्