रेल दुर्घटनाप्रति ग्रिक जनता आक्रोशित : भने– यो दुर्घटना होइन, अपराध हो

बिहीबार, फागुन २५, २०७९

एथेन्स– देशको सबैभन्दा खराब रेल दुर्घटनाप्रति आक्रोश व्यक्त गर्दै ग्रिसमा बुधबार ५० हजारभन्दा बढी प्रदर्शनकारी सडकमा उत्रिएका छन् । साथै, मजदुरहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै सामुहिक हड्ताल गरेका छन् ।

गत फेब्रुअरी २८ मा एक मालबाहक रेल र अधिकांश विद्यार्थी सवार यात्रुबाहक रेल आपसमा ठोक्किँदा कम्तीमा ५७ जनाको मृत्यु भएको थियो भने घटनापछि आक्रोशित आफन्तजन र सर्वसाधारणले घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका छन् । 

घटनामा घाइते अन्य १४ जना अस्पतालमा उपचाररत रहेका छन् ।

एथेन्सका प्रदर्शनकारीहरूले ‘यो दुर्घटना होइन, अपराध हो’ र त्यो रेलमा हामीमध्ये कोही पनि हुन सक्छौं’ लेखिएको साइनबोर्डहरूसहित प्रदर्शनमा सहभागी बनेका छन् । 

दुर्घटनाको विरोधमा देशभरका ५३ हजार भन्दा बढी प्रदर्शनकारी सडकमा उत्रिएको प्रहरीले जनाएको छ ।

एथेन्सका प्रदर्शनकारी ५४ वर्षीय सिभिल इन्जिनियर निकी सिउताले एएफपीसँग भने, ‘म मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्न मात्र होइन, आफ्नो रिस र निराशा व्यक्त गर्न पनि आएको हुँ । यो सरकार जिम्मेवारीबाट हट्नुपर्छ ।’ 

एथेन्समा करिब ३० हजार, दोस्रो ठुलो सहर थेसालोनिकीमा १५ हजार र पश्चिमी बन्दरगाह सहर पत्रासमा १० हजार प्रदर्शनकारी रहेको ग्रिसका प्रहरी प्रवक्ताले एएफपीलाई बताए । 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  ०६:११
प्रतिक्रिया दिनुहोस्