अफगानिस्तानका विश्वविद्यालय खुले तर महिला अझै प्रतिबन्धित

मंगलबार, फागुन २३, २०७९

काबुल-अफगानिस्तानका विश्वविद्यालयहरू जाडो बिदापछि सोमबारदेखि खुलेका छन्, तर तालिबान अधिकारीहरूले उच्च शिक्षामा महिलाहरूमाथि प्रतिबन्ध लगाएपछि पुरुषहरू मात्र कक्षामा फर्केका छन् ।

सन् २०२१ को अगस्टमा तालिबान् सत्तामा फर्किएपछि महिलामाथि लगाइएको प्रतिबन्धमध्ये विश्वविद्यालयको प्रतिबन्ध पनि एक हो ।

‘आफूहरू घरमै बस्नुपर्ने अवस्था र केटाहरूमात्र विश्वविद्यालय गएको देख्दा मन खिन्न हुन्छ,’ मध्य प्रान्त घोरकी २२ वर्षीया रहेलाले भनिन् ।

‘यो लैंगिक भेदभाव हो । किनकि इस्लाम धर्मले हामीलाई उच्च शिक्षा हासिल गर्न अनुमति दिन्छ । हामीलाई सिक्नबाट कसैले रोक्नु हुँदैन’, उनले थपिन् ।

तालिबान् सरकारले महिला विद्यार्थीहरूले कडा ड्रेस कोड र क्याम्पसभित्र र बाहिर पुरुष नातेदारको साथमा हुनुपर्ने आवश्यकतालाई बेवास्ता गरेको आरोप लगाउँदै छात्राहरूलाई विश्वविद्यालय जानबाट प्रतिबन्ध लगाएको थियो ।

अधिकांश विश्वविद्यालयहरूले पहिले नै लैंगिक–पृथक प्रवेशद्वार र कक्षाकोठाहरू सुरु गरिसकेका थिए, साथै महिलाहरूलाई महिला प्रोफेसरहरू वा वृद्ध पुरुषहरूले मात्र पढाउन अनुमति दिएका थिए ।

अफगानिस्तानको सबैभन्दा ठुलो काबुल विश्वविद्यालयमा इन्जिनियरिङका विद्यार्थी एजातुल्लाह नेजातीले यो महिलाको पढ्न पाउने मौलिक अधिकार भएको बताए ।

नेजातीले भने, ‘उनीहरू छुट्टाछुट्टै दिनमा कक्षामा उपस्थित भए पनि यो कुनै समस्या होइन । उनीहरूलाई शिक्षाको अधिकार छ र त्यो अधिकार उनीहरूलाई दिनुपर्छ ।’

हेरातमा पत्रकारितामा अध्ययनरत वहीदा दुर्रानीले गत वर्ष विश्वविद्यालयबाट वञ्चित हुनुअघि तालिबान सरकारले महिलाहरू अशिक्षित रहून् भन्ने चाहेको बताइन् ।

उनले भनिन्, ‘यदि अफगानी बालिका र महिलाहरू शिक्षित भए भने उनीहरूले इस्लाम र कुरानको शोषण गर्ने सरकारलाई कहिल्यै स्वीकार गर्ने छैनन् र उनीहरू आफ्नो अधिकारको पक्षमा उभिनेछन् भनी तालिबान सरकार डराएको र महिलालाई शिक्षाबाट वञ्चित गर्न प्रतिबन्ध घोषणा गरेको छ ।’

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्