अफगानिस्तानका विश्वविद्यालयमा पुरुष मात्रै, महिलाहरू अझै प्रतिबन्धित

मंगलबार, फागुन २३, २०७९

काबुल– अफगानिस्तानका विश्वविद्यालयहरू जाडो विदापछि सोमबारदेखि खुलेका छन्, तर तालिबान अधिकारीहरूले उच्च शिक्षामा महिलाहरूमाथि प्रतिबन्ध लगाएपछि पुरुषहरू मात्र कक्षामा फर्केका छन् ।

सन् २०२१ को अगष्टमा तालिवान सत्तामा फर्किएपछि महिलामाथि लगाइएको प्रतिबन्धमध्ये विश्वविद्यालयको प्रतिबन्ध पनि एक हो ।

‘आफूहरू घरमै बस्नुपर्ने अवस्था र केटाहरूमात्र विश्वविद्यालय गएको देख्दा मन खिन्न हुन्छ,’ मध्य प्रान्त घोरकी २२ वर्षीया रहेलाले भनिन्, ‘यो बालिकाहरूविरुद्ध लैंगिक भेदभाव हो । किनकि, इस्लाम धर्मले हामीलाई उच्च शिक्षा हासिल गर्न अनुमति दिन्छ । हामीलाई सिक्नबाट कसैले रोक्नु हुँदैन ।’

तालिवान सरकारले महिला विद्यार्थीहरूले कडा ड्रेस कोड र क्याम्पसभित्र र बाहिर पुरुष नातेदारको साथमा हुनुपर्ने आवश्यकतालाई बेवास्ता गरेको आरोप लगाउँदै छात्राहरूलाई विश्वविद्यालय जानबाट प्रतिबन्ध लगाएको थियो ।

अधिकांश विश्वविद्यालयहरूले पहिले नै लैङ्गिक–पृथक प्रवेश द्वार र कक्षाकोठाहरू सुरु गरिसकेका थिए । साथै महिलाहरूलाई महिला प्रोफेसरहरू वा वृद्ध पुरुषहरूले मात्र पढाउन अनुमति दिएका थिए ।

अफगानिस्तानको सबैभन्दा ठुलो काबुल विश्वविद्यालयमा इन्जिनियरिङका विद्यार्थी एजातुल्लाह नेजातीले यो महिलाको पढ्न पाउने मौलिक अधिकार भएको बताए । 

‘उनीहरू छुट्टाछुट्टै दिनमा कक्षामा उपस्थित भए पनि यो कुनै समस्या होइन । उनीहरूलाई शिक्षाको अधिकार छ र त्यो अधिकार उनीहरूलाई दिनुपर्छ,’ विश्वविद्यालय परिसरमा प्रवेश गर्ने क्रममा उनले भने । 

हेरातमा पत्रकारितामा अध्ययनरत वहिदा दुर्रानीले गत वर्ष विश्वविद्यालयबाट बन्चित हुनुअघि तालिवान सरकारले महिलाहरू अशिक्षित रहुन् भन्ने चाहेको बताइन् । 

‘यदि अफगानी बालिका र महिलाहरू शिक्षित भए भने उनीहरूले इस्लाम र कुरानको शोषण गर्ने सरकारलाई कहिल्यै स्वीकार गर्ने छैनन् र उनीहरू आफ्नो अधिकारको पक्षमा उभिनेछन् भनी तालिवान सरकारको डराएको र महिलालाई शिक्षाबाट बञ्चित गर्न प्रतिबन्ध घोषणा गरेको छ,’ उनले भनिन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  ०६:१६
प्रतिक्रिया दिनुहोस्