उदयपुरमा चैते धान खेती घट्दै

सोमबार, फागुन २२, २०७९

उदयपुर- उदयपुरको पूर्वी मध्य तथा पश्चिमी पहाडी क्षेत्रमा फागुन महिनाको पहिलो हप्तामा लगाइने चैते धान खेतीमा यस पटक खडेरीले कमी आउने भएको छ ।

हिउँदमा एक पटक पनि वर्षा नभएका कारण चैते धान खेतीमा कमी आएको हो । रौतामाई गाउँपालिकाको भुटार, पोखरी, आपटार, मुर्कुची, पुवाँरे क्षेत्रका खोलानालामा पानी सुकेकाले चैते धान रोपाइँमा प्रभाव परेको मुर्कुचीका कृषक दिलबहादुर रिखाम मगरले बताए । 

कटारी नगरपालिकाको रिस्कु, सोमबारे तथा मरुवा क्षेत्रमा पनि चैते धान खेती घटेको कटारी रिस्कुका दमन दनुवारले बताए ।

रिस्कु क्षेत्रका साना खोलानालामा खडेरीले पानीको स्रोत नै सुक्दै जान थालेकाले धान रोप्ने काम नै गर्न नसकेको दनुवारकाे भनाइ छ ।

उदयपुरगढी गाउँपालिकाको दनुवार बेँसी, बर्रे, भलायाडाँडा कालीखोला क्षेत्रमा भने मुस्किलले यस पटक चैते धान खेती गरेको बर्रेका हिराबहादुर अधिकारीले बताए ।

लिम्चुङबुङ गाउँपालिकाको जाँते, बासबोटे, ताम्लिछा र छताङ क्षेत्रका खेतमा पनि सिमसार क्षेत्र र खोलाका पानी सुक्दै जान थालेपछि थोरै कृषकले मात्र चैते धान लगाएकाे जाँतेका बृध्वज बुढाथोकीले बताए ।

जिल्लाको त्रियुगा नगरपालिकाको साउने, खाँबु र चिलाउने क्षेत्रमा पनि गत वर्षजस्तो अधिकांश खेतमा चैते धान खेती गर्न नसकिएको खाँबुका कृषक देवराज तिमसिना बताउँछन् ।

जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार उदयपुर जिल्लामा बर्सेनि १ हजार ५०० हेक्टर क्षेत्रफलमा चैते धानको खेती हुँदै आएको छ ।

खडेरीले पानीको स्रोत घट्दा चैते धान खेती गर्न समस्या भएको कृषि ज्ञान केन्द्र उदयपुरका अधिकृत तथा सूचना अधिकारी महेश चौधरीले बताए ।

ज्ञान केन्द्रका अनुसार २०६० सालभन्दा पहिले उदयपुरमा २ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती हुन्थ्यो । गाउँघरका युवाले गाउँ छाड्ने, विदेश पलायन हुने, गाउँमा जनशक्ति अभाव तथा खडेरीले विगतको तुलनामा धान खेती कम हुँदै गएको जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १६:१३
प्रतिक्रिया दिनुहोस्