सुदुरपश्चिममा विश्वासकाे मत

सुदुरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन

आइतबार, फागुन २१, २०७९

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन आफ्ना पार्टीका सांददलाई निर्देशन दिएका छन् । 

प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले प्रदेशस्थित माओवादी केन्द्रको संसदीय दलका नेतालाई मुख्यमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिएका हुन् । 

सदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिन लागेका छन् । 

एमालेका तत्कालिन मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नपाउँदा सरकार छाड्नुपरेको थियो । 

अहिले कांग्रेससँग पावर शेयरिङको कुरा टुंगो लागिनसकेको भए पनि यथास्थितिमा सुदुरपश्चिमको मुख्यमन्त्रीलाई विश्वासको मत दिन प्रचण्डले संसदीय दलका नेता खगराज भट्टलाई निर्देशन दिएको जानकारी प्रचण्डका प्रेस विज्ञ मनहरि तिमल्सिनाले बताए । 

‘प्रदेशमा सरकार बन्ने संवैधानिक प्रक्रिया र व्यवस्थाअनुसार पनि हामीले विश्वासको मत दिनुपर्ने अवस्था देखिएको छ । केन्द्रमा सरकार पुनर्गठनको अभ्यासमा प्रदेशमा पनि एउटा समझदारी पुग्नुपर्ने हुन्छ । अहिले विश्वासको मत दिनुस्, सत्ता साझेदारीको विषयमा थप छलफल गर्दै जाउँला भनेर अध्यक्षले सुदूरपश्चिमस्थित माओवादी संसदीय दलका नेता खगराज भट्टलाई निर्देशन दिनुभएको छ’, तिमल्सिनाले बताए । 

५३ सदस्यीय सुदूरपश्चिम सरकारमा विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । सुदूरपश्चिममा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्र १/१ सांसद छन् । १९ सीट रहेको कांग्रेसलाई माओवादीबाट सभामुखबाहेक १० सांसदको समर्थन भए सहजै बहुमत पुग्नेछ ।  

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १२:३७
प्रतिक्रिया दिनुहोस्