नेभिगेशन
समाचार

सुदुरपश्चिमका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

धनगढी –सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री शाहले आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार मुख्यमन्त्री शाहले शुक्रबार प्रदेशसभा सचिवालयलाई आइतबार विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन आग्रह गर्दै पत्र पठाएका थिए ।

मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि २६ माघमा एमालेका राजेन्द्रसिंह रावल नेतृत्वको सरकार ढलेको थियो । 

त्यसपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलको संसदीय दलको नेताको हैसियतमा सोही दिन शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्त भएकै भोलिपल्ट शाहले कांग्रेसका प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार विकासमन्त्री र नेकपा (एकीकृत समाजवादी) का नरेश शाहीलाई आर्थिक मामिलामन्त्री नियुक्त गरेका थिए । यी दुई दलको मात्र समर्थन हुँदा विश्वासको मत नपुग्ने भएपछि उनले अहिलेसम्म प्रक्रिया अघि बढाएका थिएनन् ।

राष्ट्रपतिको निर्वाचनलाई लिएर केन्द्रमा नयाँ समीकरण बनेर पुरानै गठबन्धन बिउँतिएपछि शाहले विश्वासको मत लिने तयारी गरेका हुन् ।

शाहलाई स्वतन्त्र सदस्य ताराप्रसाद जोशीसहित नेकपा माओवादी केन्द्रका सभामुख बाहेकका १० र नागरिक उन्मुक्ति पार्टीका ७ जनाले समेत विश्वासको मत दिने दाबी गरिएको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा २७ जनाको समर्थन भए सरकार जोगिन्छ ।

फेरिएको समीकरणअनुसार मुख्यमन्त्री शाहको पक्षमा कांग्रेसका १९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ र एकजना स्वतन्त्र समेत गरेर ४१ जना देखिएका छन् ।

सबै मत प्राप्त गरेमा शाहले दुई तिहाइभन्दा बढी मत पाउनेछन ्। नेकपा एमालेका १० र राप्रपाका १ जना सांसदको भने मत पाउने छैनन् ।

sudur1677852821.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार