नेभिगेशन
अर्थ विविध

ट्रेकिङमा पर्यटकलाई गाइड अनिवार्य

काठमाडौँ –अबदेखि ट्रेकिङमा जाँदा विदेशी पर्यटकहरूले अनिवार्य रूपमा गाइड साथमा राख्नुपर्ने भएको छ । बिहीबार बसेको नेपाल पर्यटन बोर्डको बैठकले नेपालको कुनै पनि गन्तव्यमा ट्रेकिङ जाँदा विदेशी पर्यटकले अनिवार्य गाइड लैजानुपर्ने व्यवस्था गरेको हो ।

नयाँ व्यवस्था आगामी अप्रिल १ बाट लागु हुने बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।

अहिले फ्री इन्डिभिजुअल ट्रेकर (एफआईटी) प्रणाली कार्यान्वयनमा छ । एफआईटी टिप्स कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिप्स कार्ड लिएर पर्यटकहरू एक्लै भ्रमणमा जाने गरेका थिए ।

अहिले एफआईटी र सामूहिक रूपमा लिने टिप्स कार्डको मूल्य फरक छ । एक्लै भ्रमणमा जानेहरूले दुई हजार र सामूहिक भ्रमण जानेहरूले १ हजार रुपैयाँ तिर्नुपर्छ ।

बोर्डले एफआईटी प्रणाली बन्द गरेसँगै अब विदेशी पर्यटकले टिप्स कार्ड लिँदा २ हजार रुपैयाँ तिुर्नपर्ने छ ।

एफआईटी प्रणालीले गर्दा पर्यटकको गन्तव्य पक्का नहुने र हराउने समस्या थियो । त्यसले गर्दा गन्तव्य असुरक्षित हुने अवस्था थियो ।

‘टिप्स एक ठाउँको लिने र अर्काे ठाउँमा गएर बस्ने गरेको भेटियो । जसले गर्दा गन्तव्य असुरक्षित हुने समस्या आएको थियो’, बोर्ड निर्देशक लामिछाने भने ।

पर्यटकहरूको गन्तव्य र सुरक्षामासमेत बारम्बार प्रश्न उठ्ने गरेको थियो । यस प्रकारको समस्या समाधानका लागि एफआईटी प्रणालीमार्फत टिप्स लिने व्यवस्था बन्द गरेको निर्दशक लामिछानेले बताए ।

‘एफआईटी प्रणालीले गर्दा पर्यटकहरू हराउने र कतिवय अवस्थामा मृत्यु भेटिने अवस्था थियो । जसले गर्दा पर्यटक र उनीहरूको सुरक्षामा प्रश्न उठ्यो,’ निर्देशक लामिछानेले भने, ‘नयाँ व्यवस्था लागु भएपछि सुरक्षा र गन्तव्यमा समेत सुधार हुने अपेक्षा गरेर यस्तो निर्णय गरेका हौँ ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध