दबाब आउँदैमा ऋण मिनाहा हुन्न : डेपुटी गभर्नर मिश्र

शुक्रबार, फागुन १९, २०७९

काठमाडौँ –नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै दबाब समूह बनाउनु गलत भएको बताएका छन् ।

डेपुटी गभर्नर मिश्रले पछिल्लो समय बैंकको ब्याजदर, लघुवित्तका संस्थाका कर्मचारीमाथि मोसो दल्ने समूह बनाउने कामले समाज विभाजित हुने बताए । उनले व्यवसायीहरूले लिएको ऋण दबाब समूह बनाई मोसो दल्दैमा नतिरे पनि हुन्छ भन्ने नसोच्न आग्रह गर े।

उनले त्यसरी दिइएको ऋण बैंक तथा वित्तीय संस्थाको रकम नभएर जनताको पैसा भएको बताए । ऋण तिर्दिनँ भन्दा बैंकका निक्षेपकर्ताले पैसा नपाउने बताए। ऋण लिएर तिर्दिनँ भन्नेलाई कसैले पनि प्रोत्साहन दिन नहुने बताए । 

व्यवसायीले कर्जा दिन हुने ढिलाइ र ब्याजदरका विषयमा राष्ट्र बैंकले छलफल गरिरहेको बताए ।

उनले व्यवसायीको सम्पत्ति बैंकहरूले लिलामी गर्न रोक्ने लगायतका विषयमा ऋणीलाई बुझाउँदै आएको बताए। उनले बैंक तथा वित्तीय क्षेत्रबाट खराब काम भएको थाहा पाउनेबित्तिकै राष्ट्र बैंकमा गुनासो गरे तत्काल कारबाही गर्ने बताए ।

उनले पछिल्लो समय लघुवित्त, ब्याजबारे बाहिर आइरहेका विषयमा जानकार रहेको बताए । उनले राष्ट्रिय, अन्तरराष्ट्रिय आपूर्तिमा परिर्वतन भएको कारण र पेट्रोलिय पदार्थको मूल्यवृद्धि, डलरको भाउ वृद्धि र विश्वका सेन्ट्रल बैंकहरूले ब्याज बढाएका कारण धेरै देश सकसमा परेको बताए ।

उनले भने, ‘पछिल्लो समय लघुवित्त, ब्याजका विषयमा धेरै विषय बाहिर आएका छन् । बैंकको ऋण र लघुवित्तको ऋण तिर्न नसकेर आत्महत्या गर्ने कुरा आएका छन् । यो विषयमा नेपाल राष्ट्र बैंक जानकार छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाले कर्जा तिर्दिनँ वा कर्जा नतिर्नुहोस् भन्नु गर्न नहुने काम हो ।’

उनले नेपाल आयातमुखी देश भएको र आयातमा आएको संकुचनका कारण समस्या आएको बताए ।

उनले नेपाल राष्ट्र बैंकले मार्च महिनालाई डिजिटल पेमेन्ट महिनाको रूपमा घोषणा गरेको बताए । उनले सन् २०२३ को वर्षभरलाई डिजिटल पेमेन्टको वर्षको रूपमा लिएको बताए । उनले पछिल्लो समय डिजिटल बैंकको अवधारणा विश्वभर विकास भइरहेको बताए । मिश्रले त्यसको लागि राष्ट्र बैंकले कानूनमा गर्नुपर्ने परिमार्जनका विषयमा काम गरिरहेको उल्लेख गरे ।

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १७:२७
प्रतिक्रिया दिनुहोस्